राजकुमार गुरुङ्गको ठेला रिक्साको निउँमा हत्या, ५ जनालाई मुद्दा

चितवन :  भाडामा लिएर गएको ठेला रिक्सा विक्री गरी सम्पर्कमा नआएपछि राजकुमार गुरुङको हत्या भएको खुलासा भएको छ । गत असार २३ गते भरतपुर–१० स्थित मैयाँदेवी कन्या कलेज नजिक झाडीमा बोरामा बाँधिएको अवस्थामा गुरुङको शव फेला परेको थियो ।

प्रतिदिन एक सय ५० का दरले भाडा दिने गरी मृतक गुरुङले उनका साथी कमल गन्धर्वसँग ठेला रिक्सा लिएर गएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको हो ।

मृतक गुरुङले केही समयका लागि ठेला रिक्सा लिएको तर, लामो समयसम्म फिर्ता नगरी सम्पर्कविहीन भएसँगै उनको खोजीपछि कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न तनहुँको भानु नगरपालिका वडा नं. ४ सालबिस्ने घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बस्दै आएका ३४ वर्षीय कमल गन्धर्व, रौतहट गजुरा नगरपालिका वडा नं.१ घर भएका ३० वर्षीय अमृत भन्ने अम्मर बहादुर थिङलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै सोही घटनामा दाङ घोराही उपमहानगरपालिका वडा नं.११ घर भई हाल भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बस्दै आएका २४ वर्षीय सागर ओली र भरतपुर महानगरपालिका वडा नं.८ गौरीगञ्ज बस्ने ३१ वर्षीय प्रकाश वि.क.लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसै घटनामा संलग्न तनहुँ भानु नगरपालिका वडा नं.४ सालबिस्ने घर भई हाल भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बस्दै आएकी २८ वर्षीया लक्ष्मी मगर र ४५ वर्षीया सीता गन्धर्व फरार रहेका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । हाल उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा परेकाहरुलाई कर्तव्य ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत चितवन जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता थापाले जानकारी दिए ।