फ्रान्सबाट भारतका लागि उडे पाँच लडाकु विमान

एजेन्सी : लामो छलफल र रस्साकस्सीपछि भारत-फ्रान्सबीच लडाकु विमानसम्बन्धी सम्झौता कार्यान्वयन भएको छ । फ्रान्सबाट सोमबार पाँच ‘रफाल’ लडाकु विमान भारतका लागि उडेका छन् ।

फ्रान्स एयरबेसबाट सोमबार उडान भरेका विमानहरु २९ जुलाईमा भारतको अम्बालास्थित भारतीय वायु सेनाको एयरबेसमा ल्यान्ड हुनेछन् । फ्रान्सका लागि भारतीय राजदूतले उक्त विमानहरुमा भारतको झण्डा राखेपछि उडान सुरु भएको थियो ।

भारतीय सेनाले यी लडाकु विमानका लागि ह्यामर मिसाइल खरिदका लागिसमेत अनुमति दिइएको छ । ६०-७० किलोमिटरको दूरीसम्म निशाना बनाउनसक्ने ह्यामर मिसाइल खरिदका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।

भारत-चीनबीच बढ्दै गएको तनाव तथा बदलिँदो वैश्‍विक सुरक्षा परिदृष्यमा भारतका लागि यी विमानहरु निकै महत्त्वपूर्ण भएको बताइएको छ । फ्रान्सका लागि भारतीय दूतावासले ट्विट गर्दै भनेको छ, “नयाँ राफल विमानले भारतको हवाई सैन्य क्षमतामा रणनीतिक र महत्त्वपूर्ण बल पुर्‍याउनेछ । फ्रान्सबाट आज उडान भरेका विमानहरु भारतीय एयर बेसमा ल्यान्ड हुनेछन् ।”

लडाकु विमानका लागि रुसमा निर्भर रहेको भारतका लागि युरोपियन विमान थपेर नयाँ प्रविधि भित्र्याएको बीबीसीले जनाएको छ । यी विमानहरु मे महिनामा ल्याउने भनिए पनि कोरोना भाइरसको महामारीका कारण ल्याउन सकिएका थिएनन् ।

भारतले फ्रान्ससँग ३६ राफल विमान खरिद गर्ने सम्झौता गरेको थियो । उक्त सम्झौताका क्रममा भारत सरकारले चरम भ्रष्टाचार गरेको भन्दै निकै विवादित बनेको थियो ।

एयर टु एयर र एयर टु ग्राउन्डसम्म निशाना बनाउनसक्ने क्षमता भएका रफालजस्त विमानहरु चीन र पाकिस्तानसँग पनि नभएको दाबी गरिएको छ । -डीएनए इन्डिया