कोरोनामुक्त बन्यो जुम्ला

जुम्ला : जुम्ला कोरोना भाइरस संक्रमणमुक्त जिल्ला बनेको छ ।सबै कोरोना संक्रमित निको भएपछि जिल्ला कोरोना भाइरस संक्रमण मुक्त बनेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका अन्तिम एक संक्रमित पनि आइतबार निको भएर घर फर्किएका छन् ।

जुम्लामा ६९ जनालाई कोरोना संक्रमण भएको थियो । तर उनीहरु सबै आइसोलेसनबाटै निको भएर घर फर्किएका छन् ।सबै संक्रमित निको भएर घर फर्किएपछि जुम्लाका आइसोलेसन पनि खाली भएका छन् ।

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासले यो सफलता प्राप्त भएको हो । हालका लागि जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भए पनि कोरोनाको जोखिम कायम रहेको उनको भनाइ छ ।

प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले भने, ‘जिल्लामा संक्रमितको संख्या शून्यमा झरेको छ । जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छौं।’

तर समुदायमा परीक्षणको दायरा बढाउन सके संक्रमित भेटिनसक्ने उनको अनुमान छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि प्रतिष्ठानले धेरै संख्यामा कोरोना परीक्षण गरेको छ ।