एकैपटक ६ सिडिओको सरुवा, हेर्नुस् को कहाँ पुगे ?

काठमाडौँ : गृहमन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । मन्त्रालयले केही दिन अघि नियुक्त दुई सहसचिवसहित ६ जनाको सरुवा गरेको हो ।

गोरखा जिल्लाका सिडिओ सुरेन्द्र पौडेललाई सर्लाही जिल्लाको जिम्मेवारी दिई पठाएको छ भने सर्लाहीका मोहनबहादुर जिसीलाई गृह मन्त्रालय ल्याइएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

धनुषाका सिडिओ कोशहरी निरौलालाई मोरङ जिल्लाको प्रमुख जिल्ला अधिकारी र निरौलाको ठाउँमा ललितपुर उपमहानगरबाट केही दिनअघि गृहमन्त्रालयमा सरुवा भई आएका प्रेम प्रसाद भट्टराईलाई पठाइएको छ ।

त्यस्तै गोरखा र डडेलधुरामा केही दिन अघि सहसचिव नियुक्त क्रमशः तीर्थ भट्टराई र बन्धुराज बास्कोटालाई पठाइएको छ । डडेलधुराका जगन्नाथ पन्त गृहबाटै आउट गर्दै धनगढी उपमहानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

निरौला र पौडेल धेरै जिल्लामा धेरै लामो समय सिडिओ बन्ने भाग्यमानी कर्मचारीमा पर्छन् । झापा, मोरङ, सुनसरी, पर्सा, रुपन्देही, कास्की, बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारी हुन निकै ठुलो कसरत हुने गर्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालय सरुवा गरिएका १६ जना सहसचिवमध्ये ४ जनाको मात्रै पोस्टिङ भएको छ भने अझै १२ जना पोस्टिङ गर्न बाँकी छ ।