कोरोनाबाट धनुषामा ३८ वर्षीय पुरुषको मृत्यु, नेपालमा मृतकको संख्या ४७ पुग्यो

जनकपुर : कोरोना संक्रमणबाट धनुषामा ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । धनुषाको सहिदनगर नगरपालिकाका ३८ वर्षीय पुरुषलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

ज्वरो, रुघा, खोकी जस्ता कोरोनाको लक्षण देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएकोमा यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि आइबार धरान लैजाँदै गर्दा बाटोमै ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

ती व्यक्तिको शव व्यवस्थापनका लागि जनकपुर ल्याउन लागिएको जनाइएको छ । उनको बेलुका कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

आज मात्रै वीरगंजमा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

धनुषा र पर्सामा कोरोना संक्रमणबाट एकै दिन दुई जनाको मृत्‍युको रिपोर्ट पोजेटिभ सुरक्षा सतर्कता अपनाउन प्रशासनले कडाइ गर्न लागेको छ ।