वन मन्त्री बस्नेत भन्छन् : कुसुमखोला घटना बाहिर सार्वजनिक भएजस्तो होइन

काठमाडौं : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तिमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित मन्त्री बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तिमा आगो लागाइएको र सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबैकुरा सत्य नभएको बताएका हुन् ।

मन्त्री बस्नेतले कुसुमखोला आसपास क्षेत्रका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्कोठाउँमा स्थानान्तरण गरिएको र तीनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यसठाउँमा खेति किसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको बताए ।

उनले बाँकी ८ घर मध्ये एक जनाको गोठ समेत परेको बताए । उक्त गोठमा गुन्द्री र सामान्य विस्तारा बाहेक केही नभएको बताए । स्थानान्तरण भएका व्यक्तिहरु पुनः फर्किएर त्यस ठाउँमा बस्ती बसाउने गरि मचानहरु निर्माण गर्न थालेपछि निकुञ्ज प्रशासन दवावमा पर्दा घटना घटेको हुनसक्ने मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले नेपाली सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा पनि छानविन भइराखेको बताए । उनले कुटपिट किन भयो र कसरी मृत्यु भयो भन्ने विषयमा छानविन भइराखेको बताए ।

कुसुमखोला घटना मानवअधिकार विरुद्धमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देव गुरुङले बताए । उनले निकुन्जको संरक्षण गर्ने जिम्मेवारी निकुन्ज प्रशासनको भएपनि कारवाही गर्ने तरिका उचित नभएको बताए । उनले घटनामाथि छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले उक्त घटनालाई राज्यबाट नागरिकमाथि प्रहार भएको घटनाको रुपमा लिनुपर्ने बताए । आफ्ना नागरिकको सुरक्षा राज्यले गर्नुपर्ने ठाउँमा आफैले घटना घटाउनु दुखद भएको उनको भनाई थियो ।

सांसद मातृका यादवले सेनाको बारेमा बोल्नै नहुने र प्रहरीको संरक्षण गृह मन्त्रीले गर्नै पर्ने प्रवृतिले राज्यबाटै घटनाहरु घट्ने गरेको बताए । उनले वन अतिक्रमण रोक्ने नाउँमा घटाइएको घटना पनि यसकै प्रतिफल भएको बताए ।

सांसदहरुले निकुञ्ज संरक्षण गर्ने नाउँमा मानिसमाथि नै आक्रमण गर्ने प्रवृति रोक्नु पर्ने बताएका छन् । वनलाई अतिक्रमणबाट बचाउनु पर्नेमा कुनै विवाद नरहको तर संरक्षणको नाममा मानविय क्षति हुनेगरी घटना घटाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् ।