चितवन आउदै गरेको ट्रक मनहरीमा पल्टियो, छोराको मृत्यु बाबु घाइते

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ स्थित खरङ्गामा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुने छोरा हुन् भने घाइते उनकै बुबा भएको प्रहरीले जनाएको छ ।

बाराबाट मकै बोकेर चितवनतर्फ आउदै गरेको ना ४ ख ७०४ नम्बरको ट्रक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत्को खरङ्गामा बिहान ५ बजेको समयमा अनियन्त्रित भई पल्टिएको थियो । सडकबाट २० मिटर तल खसेर दूर्घटना भएकोमा ट्रकमा सवार बाराका अन्दाजी २० वर्षका राज चौधरीको मृत्यु भएको हो ।

त्यस्तै मृतकका बुवा चालक अन्दाजी ४५ वर्षीय लक्ष्मी नारायण चौधरी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिविष्णु ढकालका अनुसार घाइते चौधरीको चितवनस्थित भरतपुरमा उपचार भइरहेको छ ।