अब पसलेले मास्क नलगाए व्यवसाय बन्द गरिदिने

विराटनगर : राटनगरमा सामाजिक दूरी र स्वास्थ्य सचेतनाका मापदण्ड कार्यान्वयनको कडा अनुगमन गरिने भएको छ । महानगरपालिकामा आइतबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिन स्वास्थ्य सचेतना र सामाजिक दूरीमा भइरहेको हेलचेक्र्याईंलाई कडाइसाथ लागू गराउने निर्णय गरेको हो ।

मेयर भीम पराजुलीका अनुसार कार्यालयमा हुने भीडले संक्रमणको दर उच्च बढ्न सक्ने भएकोले केही समय अत्यावश्यक सेवाबाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको छ । तत्कालका लागि घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण र कार्ड नविकरण जस्ता काम स्थगन गरिने भएको छ ।

महानगरका प्रमुख भीम पराजुलीले भने,“पछि हुने र गर्न सकिने सामान्य काम नगर्ने निर्णय भएको छ ।”

बजारमा पसलका सञ्चालक र कामदारहरुले अनिवार्य मास्क लगाउनुपर्ने, त्यसो नगरिए पहिलो पटक रु. १० लिएर मास्क दिने र फेरि दोहोर्याएको पाइए १५ दिन पसल बन्द गरिदिने निर्णय भएको पराजुलीले बताए ।