भेटिन थाले लक्षणसहितका संक्रमित,अब झन् जोखिम बढ्यो

काठमाडाैँ :  पछिल्लो केही दिनयता नेपालमा देखिएका कोरोना भाइरस (कोभिड–१९) को लक्षणसहितका सङ्क्रमित भेटिन थालेका छन्।

नेपालमा कोरोना भाइरस देखिएको पाँच महिनासम्म ९८ प्रतिशत सङ्क्रमितमा लक्षण देखिएको थिएन। तर सरकारले चार महिना लामो लकडाउन खोलेसँगै गम्भीर संक्रमणसहितका बिरामी भेटिन थालेका हुन्। पर्सा, रौतहटसहितका जिल्लामा भेटिएका नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिनुका साथै केहीमा निमोनिया जस्ता जटिल समस्या देखिन थालेका हुन्।

नयाँ सङ्क्रमितहरुमा लक्षण पनि देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले बताए। ‘हाम्रोमा संक्रमण देखिएको लामो समयसम्म लक्षण नभएका संक्रमित भेटिएका थिए’, उनले भने, ‘तर आजभोलि देखिएका सङ्क्रमितमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता लक्षण भेटिन थालेका छन्।’

सरकारले चैत ११ गते देशभर लागू गरेको लकडाउन गत मंगलबार मध्यरातबाट हटायो। त्यस दिनयता देशभर ४ सय ८९ जना कोरोनाका नयाँ संक्रमित भेटिइसकेका छन्। पाँचजना संक्रमितको मृत्युसमेत भइसकेको छ। पछिल्लो समय भेटिएका संक्रमितमध्ये केहीलाई निमोनियाँ जस्तो गम्भीर समस्या पनि देखिएको हो।

केही दिनअघि कोभिडको संक्रमणमा परेका विराट नर्सिङ होम, विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई संक्रमण भएपछि निमोनियाँ देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।

शुक्रवार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनमा निमोनियाँ देखिएपछि थप ‘अब्जरभेसन’का लागि भन्दै शनिबार हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याइएको बताइएको छ।

यता हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा कोभिडको लक्षण देखिएको समेत बताइएको छ।

लक्षण देखिएका संक्रमित भेटिनु जोखिम

नेपालमा संक्रमण देखिएको लामो समय सम्म खासै लक्षण भएका संक्रमित भेटिएका थिएनन्। जसले गर्दा संक्रमितहरुको स्वास्थ्यमा खासै जटिल समस्या देखिएको थिएन।

तर पछिल्लो समय संक्रमित भेटिकामध्ये धेरैमा लक्षण देखिनुले अब झन् जोखिम भएको बताइन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार लक्षणविहीन संक्रमित भन्दा लक्षण भएका संक्रमितबाट भाइरस छिटो भाइरस सर्न सक्ने र संक्रमितको स्वास्थ्यमा पनि जटिलता ल्याउने बताए।

उनले भने, ‘एक त लक्षण नभएका भन्दा लक्षण भएका संक्रमितबाट भाइरस चाँडै अर्को व्यक्तिमा सर्ने र भाइरस फैलिने सम्भावना धेरै हुन्छ भने संक्रमितको स्वास्थ्यमा पनि जटिलता निम्त्याउँछ जसले गर्दा लक्षण भेटिएका संक्रमित भेटिनु भनेको धेरै जोखिम हो।’

लक्षण देखिएका सङ्क्रमित भेटिन थालेपछि झन् सतर्कता अपनाउनुपर्ने सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने डा. पुनले बताए।