फेसबुक र टिकटकमा युवतीको मायाजाल, अमेरिका लैजाने भन्दै लाखौं ठगी

काठमाडाैँ :   फेसबुक र टिकटकका माध्यमबाट लाखौं रकम ठगेको आरोपमा दुई युवती पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बागलुङ घर भई हाल भक्तपुर रोजभिलेज कोलोनीमा बस्दै आएकी २७ वर्षीय कोपिला शर्मा र बागलुङकै १९ वर्षीया अमिशा केसीलाई पक्राउ गरेको हो ।

उनीहरुले फेसबुक र टिकटक एपबाट युवाहरुलाई फलो गर्ने र आफू अमेरिकाको डीभी होल्डर भएको, क्यार्लिफोर्नियामा बस्दै आएको र बिहे गरेर अमेरिका लैजाने भन्दै लाखौं ठगेको पाइएको महाशाखाले जनाएको छ । उनीहरुले युवालाई मायाजालमा पारेर विभिन्‍न व्यक्तिसँग ६ लाख ६० हजार रुपैयाँ ठगेको खुलेको छ । उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो ।

फिल्मकर्मीलाई पनि ठगे
प्रहरी अनुसन्धानका क्रममा उनीहरुले केही फिल्मकर्मीलाई पनि ठगेको पाइएको छ । उनीहरुले टिकटक र फेसबुकमा साथी बनाउने, फलो गर्ने त्यसपछि आफूहरु फ्यान भएको भन्दै सम्बन्ध अगाडि बढाउने गरेको खुलेको छ । अनुसन्धानका क्रममा उनीहरुले आफूहरु लकडाउनका कारण नेपालमै अल्झिएको बताउँदै विश्वास दिलाएर ठगेको पाइएको छ ।

यस्तै भक्तपुरकी एक युवतीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्दै एक लाख ६० हजार रुपैयाँसमेत ठगेको पाइएको छ ।