वडा अध्यक्षलाई कोरोना संक्रमण, गाउँ नै त्रसित

रौतहट : रौतहटको राजदेवी नगरपालिकाका एकजना वडा अध्यक्षमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काम विशेषले काठमाडौं जानका लागि पीसीआर परीक्षण गराउँदा राजदेवी नगरपालिका ८ का अध्यक्षमा संक्रमण देखिएको हो ।

शनिबार करेन्ट लागेर उनको श्रीमतीको मृत्यु भएको थियो । अन्तिम संस्कारमा सयभन्दा बढी व्यक्तिहरु वडा अध्यक्षसँगै गएका थिए । उनले करेन्ट लागेर सख्त भएकी श्रीमतीलाई जिल्ला अस्पताल गौरमा समेत आफै उपस्थित भएर उपचार गराएका थिए ।

वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेको राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले जानकारी दिए। वडा अध्यक्षमा अन्य रोग समेत रहेकाले उपचारको लागि काठमाडौं पठाइने बताइएको छ । संक्रमितसँग सम्पर्क भएका केही जनप्रतिनिधि तथा स्थानीय व्यक्ति आ-आफ्नै घर क्वारेन्टाइनमा बसेका छन्।

संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाहरुको पहिचान गरी स्वाब संकलनको काम सुरु गराएको रौतहटका सिडिओ वासुदेव घिमिरेले जानकारी दिए।