राष्ट्रिय परिचय पत्र वितरण भरतपुर महानगरबाट शुरु

चितवन : नागरिकको व्यक्तिक, जैविक विवरण सहितको अभिलेख राखिएको राष्ट्रिय परिचय पत्र वितरण भरतपुर महानगरपालिका बाट शुरु गरिने भएको छ ।

दोसो चरणमा परेका जिल्लाहरुमध्येमा रहेको चितवन जिल्लामा परिचय पत्रको लागि आगामी मंगलबार देखि अभिलेख संकलन शुरु गरिने भएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार विगतको निर्वाचनमा मतदान केन्द्र र स्थल रहे अनुसारनै महानगरपालिका क्षेत्रबाट जिल्लामा परिचय पत्रको लागि अभिलेख संकलन गरिने भएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शनिबार एक कार्यक्रमको आयोजना गरि परिचय पत्र वितरण सहजताको लागि महानगरपालिकाका २९ वडाका वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरुलगायतलाई परिचय पत्रको आवस्यकता र औचित्वको बारेमा जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बोल्दै महानगर अध्यक्ष दाहालले देशका छ वटा महानगरमध्ये आफ्नो महानगरलाई परिचय पत्र वितरणको लागि पहिलो प्राथमिकतामा छनोट गरि कार्यक्रम गरिएकोमा विभागलाई धन्यवाद दिएकी छन् । उनले उक्त कार्यक्रम सफल पार्न सबै वडाध्यक्षहरुलाई निर्देशन दिएकी छन् ।

कार्यक्रममा विभागका कार्यक्रम निर्देशक सुवास ढकालले राष्ट्रिय परिचयपत्र, यसमा समावेश हुने विषयबस्तु, परिचयपत्रको प्रयोगका बारेमा जानकारी गराएका थिए ।
सरकारले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेर दोस्रो चरणको शुरुआत गरेको हो ।

दोस्रो चरणमा बाग्मती प्रदेशको चितवन, ललितपुर र रसुवासहित १५ जिल्लामा राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय गरेको थियो । दोश्रो चरणमा परेका अन्य जिल्लाहरुमा प्रदेश १ को झापा र सङ्खुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला र सुदुर पश्चिम प्रदेशका अछाम र कञ्चनपुर रहेका थिए ।

सरकारले यी १५ जिल्ला पछि तेस्रो चरणमा २५ र बाँकी ३६ लाई चौथो चरण गरि पाँच बर्ष भित्र सबै नागरिकको हातहातमा परिचय पत्र पु¥याउने लक्ष्य लिएको थियो ।

२०७५÷०७६ मा सिंह दरबारका कर्मचारी र पाँचथर जिल्लाका नागरिकलाई वितरण गरि सकिएको परिचय पत्र २०७७÷०७८ आर्थिक बर्षमा एक करोड नागरिकलाई वितरण गर्ने गरि बजेटमा व्यवस्था गरिएको छ ।

नागरिकको व्यक्तिक, जैविक विवरणको अभिलेख राखिएको सुरक्षणदस्तखतसहितको स्मार्ट कार्ड अर्थात विद्युतीय चिप्स हो । परिचयपत्रमा रहने विद्युतीय चिप्समा पहिलो चरणमा दश औंलाको छाप, नागरिकतामा भएका विवरण, तीन पुस्ते, पेशा, योग्यताजस्ता जानकारी रहने छन् । परिचय पत्रमा मतदाता परिचयपत्र, जग्गाधनी पूर्जा, सामाजिक सुरक्षा कार्ड तथा अन्य सम्पत्ति, बैंकिङ कारोवार र सुरक्षासँग जोडिएका अभिलेख पनि राख्न सकिने गरि व्यवस्था गरिएको हुन्छ ।