कोरोनाबाट ९७ स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी :  युद्धग्रस्त देश यमनमा कोरोना भाइरसको संक्रमणबाट ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ। तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या न्यून रहेको यमनमा ९७ जना स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ।

जबकी त्यहाँ हालसम्म १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ सय ६९ जनाको मृत्यु भएको छ। युद्धग्रस्त देश यमनको स्वास्थ्य क्षेत्र जर्जर अवस्थामा छ।

मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको मेडग्लोबल नामक संस्थाले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको र मृत्यु हुनेमा विशेषज्ञ, चिकित्सा निर्देशक तथा अ‍ैषधि व्यापारीसमेत रहेको जनाएको छ। युद्धअघि यमनमा हरेक १० हजार जनसंख्याको लागि १० जना चिकित्सक उपलब्ध थिए।

विगत ५ वर्षदेखि जारी गृहयुद्धले अधिकांश अस्पतालका भौतिक संरचना ध्वस्त हुनुका साथै ठूलो संख्यामा चिकित्सकहरु कामविहीन भएर पेशा त्यागेका छन्। त्यहाँको चिकित्सा क्षेत्र ध्वस्त हुँदै गएको छ।