कर्णालीका जनप्रतिनिधिले चाडपर्व मनाउन बर्सेनी १५ हजार पाउने

सुर्खेत :  गरिबीको रेखामुनि रहेको कर्णालीमा थप आर्थिक भार बढ्ने भएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई मासिक तलब भत्ता खाने कानुनी बाटो खुलेपछि प्रदेशलाई आर्थिक भार बढेको हो ।

अब कर्णालीका प्रत्येक जनप्रतिनिधिले चाडपर्व मनाउन बर्सेनी १५ हजार रुपैयाँ पाउने छन् । जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले पाउने चाडपर्व बापतको खर्च जोड्दा राज्यकोषबाट वर्षमा साढे पाँच करोड रुपैयाँ खर्च हुनेछ । जनप्रतिनिधिलाई चाडपर्व मनाउन राज्यबाट दिइने खर्चको हिसाब गर्दा कर्णालीलाई बर्सेनी पाँच करोड ५३ लाख रुपैयाँ थप आर्थिक भार बढ्ने भएको हो ।

चाडपर्वबाहेक अन्य मासिक तलब र भत्ता जोड्दा आर्थिक भार अझ बढी हुनेछ । हाल कर्णालीमा तीन हजार ६ सय ८७ जना जनप्रतिनिधि छन् । यो चाडपर्वबाहेक जनप्रतिनिधिले तलब भत्ता र इन्धनको सुविधा जोड्दा वर्षमा एकअर्ब भन्दा बढी रकम हुन आउँछ । यसरी हेर्दा कर्णाली प्रदेशमा स्थानीय तहका जनप्रतिनिधिहरुले राज्य कोषबाट वार्षिक एक अर्बभन्दा बढी रुपैयाँ सेवा सुविधामा खर्चिने देखिएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।