नेपाल विद्युत प्राधिकरण भरतपुर केन्द्रमा हात धुने धारा जडान

चितवनः लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुले कोरोना संक्रमणबाट जोगिनका लागि नियमित रुपमा साबुनपानीले हात धोऔँ भन्दै सार्वजनिक स्थानमा सेमी अटोमेटिक धारा जडानलाई तीव्रता दिएको छ ।

यस अभियान अन्तर्गत क्लबले शुक्रबार (आज) भरतपुरको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा थप एउटा धारा जडान गरिदिएको छ । क्लबले यसअघि चितवन र नवलपुरका विभिन्न १४ स्थानमा धारा जडान गरेको लायन्सको कोभिड सुरक्षा समितिका संयोजक सिद्धार्थलाल चुकेले बताए । मानिसको बढी भीडभाड हुने स्थान छनौट गरेर नवलपुर र चितवनका विभिन्न क्षेत्रमा धारा जडानको काम अगाडि बढाइएको चुकेको भनाइ छ ।

क्लबले यसअगाडि विद्युत प्राधिकरणमा एउटा धारा जडान गरिसकेको भएपनि उपभोक्ताको चाप बढी भएर पुनः अर्को धारा माग भएको कारण धारा जडान गरिएको चुकेले बताए । धारा जडानका लागि लायन्स क्लब अफ नारायणगढ संगमचोक र लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जीवनीले सहकार्य गरेका चुकेको भनाइ छ ।

लायन्स क्लब इन्टरनेशन ३२५ बी टु का प्रथम भाइस डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले कोभिड प्रकोप सुरु भएदेखि नै लायन्स क्लबले सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताए । सेमीअटोमेटिक धारामा हात धुने पानी, साबुन तथा लिक्विड राखिएको छ ।

सार्वजनिक स्थानमा हात धुने व्यवस्था गर्दा सर्वसाधारण नागरिकमा हात धुने बानीको विकास हुने कार्यक्रम संयोजक लायन्स क्लब अफ नारायणगढ संगमचोकका सुवीर श्रेष्ठले बताए । धारा उद्घाटन कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ नारायणगढ संगमचोकका अध्यक्ष घनश्याम सुवेदी र लायन्स क्लब अफ नारायणगढ संगमचोक सञ्जीवनीका अध्यक्ष रचना चुकेले गरेका थिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले स्वागत मन्तव्य राखेका थिए ।