अनलाइनलगायतका वैकल्पिक शिक्षण सिकाइ सुरू

भरतपुर : संस्थागत विद्यालयहरुले फेरि अनलाइनलगायतका वैकल्पिक शिक्षण सिकाइ सुरू गरेका छन् ।
साउन १ गतेदेखि देशभरका संस्थागत विद्यालयहरुले अनलाइनलगायतका वैकल्पिक शिक्षण सिकाइका सम्पूर्ण क्रियाकलापहरु स्थगन गरेका थिए । अनलाइन कक्षा स्थगनपछि संस्थागत विद्यालयहरुलाई शिक्षा मन्त्रालय, अभिभावक संघ, विद्यार्थी संघ/संगठनलगायतले पुनः कक्षा सञ्चालन गर्न चर्को दबाब दिएका थिए ।
स्थगन भएको एक हप्तामै संस्थागत विद्यालयहरुले पुनः अनलाइनलगायतका वैकल्पिक शिक्षण सिकाइ सुरू गरेका छन् । ‘देशभरका संस्थागत विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन गरेका छौँ’, केन्द्रीय प्याब्सनका अध्यक्ष टीकाराम पुरीले भने, ‘हाम्रा केही माग पूरा भएका छन्, केही पूरा हुने आश्वासन हामीले पाएका छौँ जसले गर्दा अनलाइन कक्षा पुनः सञ्चालन गरेका हौँ ।’
संस्थागत विद्यालयका सञ्चालकहरुले शिक्षण सिकाइमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई साउन १ गतेदेखि नै बेतलबी घर बिदासमेत दिएका थिए । अध्यक्ष पुरीका अनुसार घर बिदासमेत फिर्ता भएको छ । उनका अनुसार देशभर संस्थागत विद्यालयमा कार्यरत रहेका दुई लाख ५० हजार शिक्षक तथा कर्मचारी पुनः काममा फर्केका छन् । संस्थागत विद्यालयका ३० लाख विद्यार्थीहरु वैकल्पिक शिक्षण सिकाइमा पुनः जोडिएका छन् ।
‘सरकारसँगको वार्तामा हाम्रा माग पूरा हुने आश्वासन पाएका छौँ, मौद्रिक नीतिले पनि हाम्रो माग धेरै पूरा गरिसकेको छ’, अध्यक्ष पुरीले भने, ‘भदौ एक गतेबाट विद्यार्थीको अभिलेखीकरण हुन्छ ।’ संस्थागत विद्यालयका सबै समस्याहरु फुकाउने शिक्षा मन्त्रालयले जनाएपछि अनलाइन कक्षालाई पुनः सञ्चालनमा ल्याइएको प्याब्सन तथा एनप्याब्सनले जनाएका छन् ।
कोभिड–१९ का कारण गत चैतबाट पठनपाठन अवरूद्ध भएपछि शिक्षा मन्त्रालयले २०७७ साल असार १ गतेदेखि लागू हुने गरी वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका जारी गरेको थियो । सोही निर्देशिकाअनुसार पुनः अनलाइन कक्षा चलाइएको प्याब्सनका अध्यक्ष पुरीले बताए ।
चितवनका संस्थागत विद्यालयहरुले विद्यार्थीहरुको अभिलेखीकरण गरिरहेका छन् । चितवन प्याब्सनका अध्यक्ष टीकाराम चापागाईंले विद्यार्थी दर्ता गर्ने काम भइरहेको बताए । उनी भन्छन्, ‘छिटै भर्ना गर्दै शुल्क लिन थाल्छौँ, नत्र कसरी स्कुल चलाउने ? शिक्षकलाई तलब कसरी खुवाउने ?’
अध्यक्ष चापागाईंले अनलाइन कक्षा चितवनमा चार दिनमात्र बन्द भएको बताए । उनले भने, ‘चितवनमा राम्रोसँग अनलाइन कक्षा चलाउने विद्यालयहरुले भदौमा परीक्षा नै लिन सक्छन् ।’ उनले शिक्षकका समस्या जिल्लामा बनेको कार्यदलले हल गर्ने बताए ।
उनले भने, ‘इस्टु, अभिभावक संघ, संस्थागत विद्यालय सञ्चालक, स्थानीय तह सबै बसेर कार्यदल बनाइएको छ । कार्यदलले नै शिक्षकका सम्पूर्ण समस्या हल गर्नेछ ।’
चितवनका संस्थागत विद्यालयहरुले लामो समयदेखि वैकल्पिक शिक्षण सिकाइ चलाउँदै आएका छन् । चितवनमा कतै अनलाइनबाट, कतै टिभीबाट, कतै रेडियो, एफएमबाट शिक्षण सिकाइ भएका छन् । कोरोना महामारीका कारण रोकिएको विद्यालयको पठनपाठन आगामी भदौ एकदेखि भर्ना र परीक्षा सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ । chitwan post