वाग्मती प्रदेशको छैटौं अधिवेशन आजदेखि अन्त्य, काँग्रेसको आपत्ती

हेटौंडा : वाग्मती प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । बजेट अधिवेशनसमेत भनिने छैटौँ ९वर्षे० अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य हुने भएको हो । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि वर्षे अधिवेशन अन्त्यगर्ने निर्णय गरेको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने व्यवस्थाअनुरुप अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष सिफारिस गरिएको सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए ।

जेठ १२ गतेबाट सुरु भएको अधिवेशनले वाग्मती प्रदेशको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । कोरोना महामारीकाबीच सञ्चालन भएको बैठकले ९ वटा विधेयकहरु पारित गर्‍यो । त्यस्तै महत्वपूर्ण ऐनको रुपमा हेरिएको प्रदेश प्रहरी सम्बन्धी ऐन तयार गरेको वाग्मती प्रदेशसभाले २ वटा अध्यादेशहरु पनि पारित गरेको छ ।

यसैगरी प्रदेशसभाले आर्थिक ऐन, विनियोजन ऐन, प्रदेश सूचनाको हक सम्बन्धी ऐन, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा र व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सरकारले अध्यादेशबाट आएको आर्थिक कार्यविधि ऐन संशोधन गर्न बनेको विधेयक पनि पारित भएको छ । प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने विचाराधीन अवस्थामा रहेको छ ।

प्रतिपक्षी कांग्रेसको आपत्ति
वाग्मती प्रदेशको प्रमुख प्रतिपक्षी कांग्रेसले एक्कासी अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाएको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विपक्षी दलहरु र सभामुखसँग समन्वय र छलफल नै नगरी सरकारले एक्कासी प्रदेशसभा बैठक अन्त्य गरेको भन्दै आपत्ति जनाएका हुन् । ‘हामीसँग कुनै छलफल भएको छैन । यसअघि पनि सरकारले यसैगरी अधिवेशन अन्त्य गरेको थियो ।’, उनले सत्तारुढ दलभित्र समस्या भएका कारण सदन छलेर अधिवेशन अन्त्यको निर्णय गर्नु गलत भएको बताए ।