चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २६ गैंडा र ३ बाघ मरे

चितवन :  अघिल्लो आर्थिक वर्ष ०७५/७६ को तुलनामा ०७६/७७ मा चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक तथा चोरी–सिकारी गरेर दुर्लभ वन्यजन्तु मर्नेको संख्या घटेको छ ।

निकुञ्जका अनुसार आव ०७६/७७ मा २६ गैंडा मरेका थिए । ती गैंडा बाघसंँग जुधेर, बूढो भएर, दलदलमा फसेर, रोग लागेर र आपसमा जुधेर मरेका हुन् ।

तीमध्ये निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २४ वटा र डिभिजन वन क्षेत्रमा दुईवटा मरेका थिए । आव ०७५–७६ मा ४३ गैंंडा मरेका थिए । तीमध्ये ४१ वटा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मरेका थिए भने डिभिजन वन कार्यालय क्षेत्रमा दुईवटा मरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा गत आव ०७६/७७ मा मर्ने बाघको संख्या पनि घटेको छ । निकुञ्जका अनुसार दुईवटा भाले तथा एउटा पोथी बाघ मरेका छन् । ती बाघहरू बूढो भएर, घाइते भएर मरेका हुन् । अघिल्लो आवमा ५ वटा भाले बाघ र एकवटा पोथी बाघ मरेका थिए ।

त्यस्तै गत आवमा पनि निकुञ्जमा जंगल सफारीका लागि राखिएका तीनवटा हात्ती मरेका थिए । तीमध्ये दुई भाले र एक पोथी हात्ती थिए । ती हात्ती बुढो भएर तथा रोग लागेर मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रूपाखेतीले गत वर्ष गैंडाजस्ता दुर्लभ वन्यजन्तुको आहाराका लागि प्रशस्त घांँसे मैदानको व्यवस्था गरिएकाले पनि मृत्यु हुने संख्या घटेको बताए । “हामीले नयांँ प्रविधिसहित पांँच सय हेक्टर घांँसेमैदानको व्यवस्था गरेका छौं,” उनले भने, “यसपटक मनसुन चाँडै सुरु भएकाले जंगलमा आगलागी पनि हुन पाएन ।”

उनका अनुसार आहाराको कमी हुंँदा बाघ, गैंडाजस्ता जनावर भौतारिएर हिँड्ने, आपसमा जुध्ने र बस्तीसम्म पस्ने गरेका कारण प्राकृतिक कारणले त्यस्ता वन्यजन्तु मर्ने गर्छन् । निकुञ्जले चौबीसै घण्टा चोरी–सिकारीबाट हुने जोखिम कम गर्न सेना, निकुञ्जका कर्मचारीलगायत अत्याधुनिक प्रविधिबाट यसको नियमन अनुगमन गर्दै आएको छ ।

“हामीले साइकल गस्ती, मोटरसाइकल, गाडी, हात्तीबाट नियमित गस्ती गर्दै आएका छौं,” उनले भने, “सीसीटीभी, ड्रोनबाट पनि अनुगमन गरेका कारण मृत्यु घट्नुको कारण हो ।”