नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी पानी छाड्ने तयारी

चितवन : नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको छ । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पु¥याएको सो लिफ्टले हाल धानखेतीका लागि बर्सातमा मात्र पानी छोड्ने गर्दछ ।

लिफ्ट हेर्दै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई खेमबहादुर पाठकका अनुसार लिफ्टका दुईवटा पम्पमध्ये एउटा पम्प नयाँ जडान गरिँदैछ । यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको उनले जानकारी दिए । करिब रु ३५ करोडको लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । आजसम्म बोलपत्रको समय भएकामा लकडाउनका कारण साउन २३ गतेसम्मलाई सारिएको छ ।

वाग्मती प्रदेश सरकारले पम्प जडानका लागि रु १९ करोड विनियोजन गरिसकेको छ । अपुग रकम प्रदेश र अन्य निकायबाट प्राप्त हुनेछ । नयाँ पम्प जडानसँगै विद्युत् खपत कम हुने, मर्मतसम्भार खर्च घट्ने र चलाउन सहज हुने पाठक बताउँछन् । हाल सञ्चालनमा आएको पम्प ११ केभिए भोल्टबाट चल्छ भने अब नयाँ पम्प छ दशमलव छ केभिएबाट चल्ने उनले जानकारी दिए । लिफ्टमा भइरहेका दुई पम्प सञ्चालन गर्दा तीन महिनामा रु एक करोड ५० लाख बराबरको विद्युत् खपत हुँदै आएको छ । नयाँ पम्प आएसँगै विद्युत् खपत निकै कम हुने पाठकको भनाइ छ । पुराना पम्प भएकाले अहिले वर्षमा रु दुई करोड हाराहारी पम्प मात्र मर्मतमा खर्च हुँदै आएको छ ।

हाल भएका पुराना दुई पम्पको मोटरमाथि छन् भने अबको नयाँ पम्प समर्सियल ९पानीमुनि राखिने० किसिमको अत्याधुनिक हुनेछ । नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाट लिफ्टले भरतपुर महानगरपालिकाको वडा नं ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्षरूपमा सिञ्चित गर्दै आएको बताउँछन् । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडामा पनि सिँचाइ गरिँदै आएको छ ।

भरतपुर महानगरपालिका–१ नारायणगढमा दुईवटा पम्प राखेर त्यसै पम्पले नारायणीको पानीमाथि तानेर भरतपु्र महानगर क्षेत्रमा कुलोबाट पानी पठाएर सिञ्चित गरिँदै आएको छ । हाल असार अन्तिम साताबाट कात्तिक पहिलो सातासम्म धान रोपाइँ र धानलाई सिञ्चित गरिँदै आएको छ । रासस