चल्न थाले सार्वजनिक यातायात

काठमाडौं : बिहीबारदेखि धेरै सार्वजनिक यातायातका साधन गुड्न थालेका छन्  । यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त घोषणा गरेपछि यातायातका साधन गुड्न थालेका हुन्।

यसअघि पनि फाट्टफुट्ट सार्वजनिक यातायात चले पनि व्यवसायीका प्रतिनिधिमूलक संस्थाले आफ्ना केही माग सम्बोधन भएपछि मात्र यातायात चलाउने घोषणा गरेका थिए ।

व्यवसायी र मजदुरका माग सरकारले सम्बोधन गर्ने बताएपछि साउन ८ गतेपछि देशभर यातायातका साधन चलाउने व्यवसायीले बताएका थिए । हाललाई काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरभर र उपत्यकाबाहिर सम्बन्धित जिल्लाभित्र मात्र यातायातका साधन चलाउन पाइन्छ ।

बिहीबारदेखि काठमाडौंका सडकमा बाक्लो संख्यामा सार्वजनिक यातायात देखिएका छन् । रत्नपार्कको खुलामञ्चस्थित बस टर्मिनलमा बिहीबार बाक्लो संख्यामा सवारी साधन देखिएका छन् । सडकमा पनि सार्वजनिक यातायातको संख्या बढेसँगै जाम हुन थालेको छ ।

सरकारले सार्वजनिक यातायातमा एक पंक्तिमा एक जनामात्र राख्न पाइने, मास्क अनिवार्य लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुुपर्नेजस्ता सावधानीको उपाय अपनाउन आग्रह गरेको छ । online khabar