मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा

काठमाडौं : आज बुधबार देशका मुख्य नदीहरुमा जलसतह घट्दोक्रममा रहेको छ ।कन्काई, कमला, वाग्मती, नारायणीलगायतका नदीहरुको बहाव घट्दोक्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दोक्रममा रहेपनि कन्काई, कमला, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई र केही सहायतक नदीहरुमा पानीको बहाव घट्दोक्रममा रहेको बताउनुभयो ।

यस्तै, महाकाली, कर्णाली र त्यसका सहायक नदीमा बहाव घट्दोक्रममा रहेको छ । कन्काई, कमला, वाग्मती नदीमा बहाव घटबढ हुनेक्रममा रहको उहाँले बताउनुभयो ।

अहिले देशभरिको मौसम बदली रहेको छ । प्रदेश नम्बर–५ र गण्डकी प्रदेशमा हल्का वर्षा भइरहेको छ ।

आगामी २४ घन्टामा प्रदेश नम्बर–१, २ ५, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

आज अधिकांश स्थानमा वर्षा नभएपनि वर्षा नै नहुने भन्ने नभएको उहाँले बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले पूर्वी राप्ती, भेरी, कन्काई, कमला, इनाउ, पश्चिम राप्ती, बबई, महाकालीलगायतका २१ ओटा नदी आफ्नो कार्यक्षेत्रभित्र रहेको बताउनुभयो ।

महाकाली, कर्णाली, बबई, नारायणी, रुपाताल संक्षण, बक्राह, कोसी, वाग्मती र कमलालगायत १० ओटा नदी नियन्त्रणको जिम्मेवारी पनि आफ्नो मातहत आउने बताउनुभयो ।गत आर्थिक वर्षमा ४७ किलोमिटर तटबन्द निर्माण भएको उहाँले बताउनुभयो ।गत वर्ष १९० हेक्टर जग्गा डुबान हुनबाट जोगाइएको पनि उहाँले बताउनुभयो।

रासस