क्लिनिकबाट लागुऔषध बिक्री गर्ने तीन जना पक्राउ

मोरङ : मोरङमा क्लिनिकबाट अवैध रूपमा लागुऔषध बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा क्लिनिक सञ्चालकसहित धरान १७ का सुसाङकुमार चौधरीलगायत तीन युवा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङको बेलवारी नगरपालिका ६ सोमबारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले गोप्य सूचनाका आधारमा त्यहाँ छापा हानेको र बिक्री गर्ने तथा खरिद गर्नेलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार सुसाङ टेक्निकल क्लिनिकका सञ्चालक १९ वर्षीय सुसाङकुमार चौधरी पक्राउ परेका छन् ।

उक्त औषधि पसलमा अवैध लागुऔषधि किनिरहेका बेलबारी ५ का २३ वर्षीय शिवजी चौधरी र धरान १७ का २१ वर्षीय किसनलाल थारू पनि पक्राउ परेका छन् । प्रहरीले विभिन्नथरीका औषधिसमेत बरामद गरेको छ । केहीअघि धरानबाट पनि मेडिकल सञ्चालकसहित लागुऔषध प्रयोगकर्ता पनि पक्राउ परेका थिए ।