आजबाट मापसे चेकिङ

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको मापसे चेकिङ आज बुधबार बाट फेरि शुरु हुने भएको छ ।

लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले मापसे चेकिङ सुरु गर्ने भएको हो । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको छ ।

महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।

त्यसैगरी सार्वजनिक सवारी साधन चल्ने भएसँगै महाशाखाले आजैबाट सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरी टोली परिचालन गरेको छ ।

सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् ।

आजबाट ट्राफिक नियम मिच्नेलाई कारबाही हुने पनि महाशाखाले जनाएको छ । नियमविपरीत जानेलाई पहिलेजस्तै चिट काटेर आर्थिक कारबाही गरिने एसएसपी ढकालले बताए ।