नेपालमा सलह प्रकोप

कोरोना भाइसरको प्रकोप महामारीको रुपमा फैलिरहेको अवस्थामा नेपालमा फेरि सलह किराको प्रकोप देखिएको छ । भारतीय सीमावर्ती जिल्ला बारा, पर्सामा देखिएको यो किरा सर्लाही, सिन्धुली, रुपन्देही हुँदै कास्कीसम्म देखिइसकेको छ । नेपालमा खतरनाक किरा सलहको प्रवेश भएसँगै त्यसले नेपालको कृषि खेती प्रणालीलाई चौपट पार्न सक्ने देखिएको छ । अमेरिकी फौजी किराभन्दा कयौँ गुणा क्षति गर्न सक्ने सलह सम्भावित चुनौतीका रुपमा देखिइसकेको छ । एशिया भारत, पाकिस्तान, इरानमा पनि यसले क्षति पु¥याउन सुरु गरिसकेको छ ।
नेपालमा देखिन सुरु गरेको सलह किरा लाखौँ वा करोडौंको सङ्ख्यामा हुन्छन् । सलहलाई एक ठाउँबाट अर्काे ठाउँमा वा एक खेतबाट अर्काे खेतमा गर्दै त्यहाँ उपलब्ध भएका सम्पूर्ण हरिया वनस्पतिहरू छोटो समयमा नै सखाप पारी खाइदिन सक्षम जीवको रुपमा लिइन्छ । यसले बिरुवाका पातहरू खाएर सकिसकेपछि बिरुवाको हाँगा एवम् बोक्रालाई समेत सखाप पार्ने अनुसन्धानकर्ताहरु बताउँछन् । हावाको गतिअनुसार यो किरा एक दिनमा लगभग एक सय ३० किलोमिटरसम्म हुल बनाएर हिँड्छ । यही हिसाबले नेपालको दक्षिण तराईको भागबाट यसले दुईदेखि तीन दिनसम्म उत्तरी सिमाना पार गर्न सक्ने देखिन्छ ।
एक किलोमिटरको हुलमा हुने सलहको करिब ४ देखि ८ करोड संख्याले ३५ हजार जनालाई एक दिनमा पुग्ने खाना नष्ट गर्न सक्छ भनेर संयुक्त राष्ट्र संघले घोषणा गरेको छ । फट्याङ्ग्रा प्रजातिको यस सलह किराले जमिनमुनि बालुवामा ६०–८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डा पार्न सक्दछ । मनसुनको समयमा नेपाललगायत संसारका सबैजसो भू–भागमा वातावरणीय परिवर्तन भई केही न्यानो बढ्ने हुँदा सलहका लागि उपयुक्त वातावरण हुन गई यसले आफ्नो जीवनचक्रमा परिवर्तन ल्याउन सक्छ र आफ्ना गतिविधि तथा प्रजनन् क्षमता वृद्धि गर्दै यसको फैलावट बढ्न गई नेपालमा जोखिम बढाउने देखिन्छ ।
सलह किरा छिमेकी देश भारतका राज्यहरूमा कसरी फैलिएको छ त्यसको अध्ययन गर्दै नेपालमा नियन्त्रणका लागि राज्यले ठोस कदम चाल्नुपर्ने देखिन्छ । नेपाल सरकारले नै यसलाई सम्भावित क्षति पु¥याउन सक्ने किराहरूको सूचीमा राखेर यस किराको बारेमा छलफल तथा व्यवस्थापनका विधिहरू अपनाउनुपर्ने हुन्छ । नेपाल सरकारले सार्क क्षेत्रमा नै यस्ता किराहरूको व्यवस्थापनका लागि क्षेत्रीय स्तरमा छलफल एवम् सहकार्य बढाउनुपर्ने देखिन्छ । नेपाल भित्रिसकेको यस किराको प्रकोपबाट छुटकारा पाउनका लागि कृषकहरुले समेत विभिन्न सावधानी अपनाउनुपर्ने देखिएको छ । सलहको हुललाई तितरवितर पार्नका लागि आगो बाल्ने, धुवाँ लगाउने, प्राकृतिक शिकारीको रुपमा हाँस, माकुरा तथा छेपारोलाई बारीमा छोड्नेलगायतका विधिहरु अपनाउनुपर्ने हुन्छ । त्यस्तै, थाल ठटाउने, माइक बजाउने, ड्रम बजाउँदै आवाजबाट समेत सलहलाई लखेट्न सकिने कृषि विज्ञहरुले बताएका छन् । यसको प्रकोप नियन्त्रणका लागि पानीमा पाँच प्रतिशत निमको झोल बारीमा छर्किने, लसुन पानी छर्ने, करेसा बारीमा झुलको प्रयोग गर्नेलगायतका कामले समेत सलहबाट अस्थायी रुपमा छुटकारा पाउन सकिने विज्ञहरुको भनाइ छ ।