नारायणी नदीको कटान रोक्न ६५ लाख

नवलपुरः नारायणी नदीले धार परिवर्तन गर्न शुरु गरेपछि यसको रोकथामका लागि काम थालिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ रतनपुरमा नारायणी नदीले कटान शुरु गरेपछि यसको नियन्त्रणका लागि काम थालिएको हो ।
नारायणी नदीको कटान तत्कालका लागि रोक्न विभिन्न तहको रु ६५ लाख बजेटमा काम शुरु गरिएको हो । यस क्षेत्रका सङ्घीय सांसद तिलक महतले नारायणी नदीको कटान रोक्नका लागि तत्काल बजेट विनियोजन गरेर काम शुरु भएको जानकारी दिए । नदीले कटान गरेको स्थान रतनपुरको स्थलगत निरीक्षणपछि सांसद महतले सो स्थानमा तत्कालका लागि कटान रोक्न मध्यविन्दु नगरपालिकाले १५ लाख रुपैयाँ, सिँचाई डिभिजन कार्यालयले २० लाख रुपैयाँ तथा जनताको (नारायणी नदी) तटबन्ध कार्यक्रमबाट ३० लाख रुपैयाँ निकासा भएर काम शुरु भइसकेको बताए ।
असार अन्तिम सातादेखि नारायणी नदीमा आएको बाढीले रतनपुरसहित मध्यविन्दु नगरपालिकाको नदी तटीय क्षेत्रमा कटान शुरु गरेको छ । नारायणी नदीको कटानबाट नगरपालिकाको वडा नम्बर २ र ३ उच्च जोखिममा रहेको नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले बताए । नदीमा आएको बाढीका कारण ती वडाका रतनपुर, नन्दपुर, सेहरी तथा सीतापुरमा बढी खतरा रहेको रानाको भनाइ छ ।
अहिले नारायणी नदीमा बाढी आउँदा देखिएको धार परिवर्तनलाई रोक्न नसकेको अवस्थामा नगरपालिकाको ब्रम्हस्थान, लेडाहा, भँडारा, पर्सौनी, भिउरान तथा कोलकट्टालगायतका गाउँसमेत कटानको जोखिममा रहेको मध्यविन्दु–३ का वडाअध्यक्ष अमरबहादुर महतोले बताए । गतसातादेखि आएको नारायणी नदीमा आएको बाढीका कारण मध्यविन्दु–३ को रतनपुरमा रहेको ग्रीन रिभर कटेजको दुई वटा टहरासहित स्थानीयको दुई हेक्टर जमिन समेत कटान गरिसकेको छ ।
नारायणीले कटान गरेको ठाउँमा अहिले स्काभेटर प्रयोगगरि नदीकिनारमा ठूला ढुङ्गा खसालिएको छ । नदीकिनारमा हेभि मेशिन प्रयोग गरेर यसरी ठूला ढुङ्गा खसाउँदा तत्कालको लागि कटान रोकिने मध्यविन्दु–३ का स्थानीय हुमनाथ पोखरेलले बताए । जनताको तटबन्ध कार्यक्रमअन्तर्गत रतनपुरमा आठ वटा ठोक्कर (ग्याबिन भरिएको) निर्माण गरिएकोमा नदीमा पानीको बहाब बढ्दै गएपछि कटानका कारण एउटा ठोक्कर जोखिममा परेको पोखरेलको भनाइ छ । ठोक्कर निर्माण गर्दा दुई ठोक्करबीचको दूरी ५० देखि ६० मिटरको रहेको छ ।
यसअघि विसं. २०५८ सालमा आएको बाढीका कारण तत्कालीन कोल्हुवा गाविसका रतनपुर सहित नन्दपुर, धजाहा, सेहेरी, सिर्कीटोला, गोठारटोला र टाँडीटोला, ब्रम्हस्थानका बासिन्दाहरु विस्थापित भएका थिए । त्यो समयमा गाउँमा पसेको बाढी तथा कटानका कारण सयौँ बिघा खेतीयोग्य जमिन समेत बगरमा परिणत भएको थियो ।