पृथ्वी राजमार्गको तनहुँखण्डमा ठाउँठाउँमा पहिरो

तनँहु :     निरन्तर वर्षा हुने क्रम नरोकिएपछि ठाउँठाउँमा पहिरो जाँदा तनहुँस्थित पृथ्वी राजमार्गको यातायात रोकिएको छ । पृथ्वी राजमार्गका कम्तिमा चार ठाउँमा ठूलो पहिरो जाने तथा सडक भाँसिने समस्या देखिएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्र्तगत तनहुँ बन्दीपुरको नहालामा सडक नै भाँसिएको छ । करिब पाँच मिटर सडक भासिएकाले त्यस क्षेत्रमा यातायात अवरुद्ध हुन पुगेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

यसैगरी राजमार्गअन्र्तगत बन्दीपुरकै बिमलगरमा पहिरो खस्दा यातायात रोकिएको छ । विहानै पहिरो खस्दा आगमनमा कठिनाई भएको तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामा फेरि पहिरो खसेपछि यातायात सम्पर्क टुटेको छ ।
यता, राजमार्गअन्र्तगतकै म्याग्दे गाउँपालिकामा पर्ने गुणादीमा पनि पहिरो खस्दा अवरुद्ध सडकमा पहिरो खस्ने क्रम बढेकाले यातायात नियमित बनाउन कठिनाई परेको प्रहरीको भनाइ छ ।