बाढीका कारण ३० भन्दा बढी घर डुबान

नवलपुर: आइतबार साँझदेखि निरन्तर परेको वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा गरि ३० भन्दा बढी घर डुबानमा परेका परेका छन् । जिल्लाको गैँडाकोट, मध्यविन्दुलगायतका स्थानमा बाढीका कारण ३० भन्दा बढी घर डुबानमा परेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।
नारायणीको पानी पस्दा गैँडाकोट नगरपालिका– २ को बोटेटोल डुबानमा परेको घिमिरेले बताए । “निरन्तर परेको पानीका कारण गैँडाकोटको ३० भन्दा बढी परिवारको घरमा नारायणीको बाढी पसेको छ” घिमिरेले भने, “ती स्थानका ३० घर परिवारलाई सुरक्षित स्थानमा सारिसकेका छौँ ।” गैँडाकोटमा नदीले घर डुबान गरेका परीवारलाई नजिकैको अक्स्फोर्ड कलेजमा सुरक्षित रुपमा सारिएको प्रमुख जिल्ला अधिकारीले घिमिरेले बताए ।
त्यस्तै मध्यविन्दु–३ को रतनपुरमा नारायणी नदीको कटान नरोकिएको उनको भनाइ छ । “हामीले रतनपुरमा नदीकटान रोक्नका लागि शुक्रबारदेखि नै ठूला ठूला ढुङ्गा लगेर नदीकिनारमा राख्ने काम गरेका थियौँ” उनले भने, “तर नदीमा पानीको बहाव बढिरहेको हुँदा प्रभावकारी हुन सकेन ।” त्यस स्थानमा नदीको कटान नरोकिदा स्थानीयलाई उच्च सतर्क अवस्थामा राखिएको घिमिरेले बताए ।
नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि गैँडाकोटकै वडा नम्बर ६ शिवनगरमा समेत नारायणीले कटान शुरु गरेको छ । यहाँको फोनु विक, गिरमान परियार, शुकदेव परियारलगायतका घरहरु नदीले कटान गर्न थालेको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताए । वडा नम्बर ६ मा कटान सुरु गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई शिव मन्दिर र सीताराम मन्दिरमा अस्थायी रुपमा बसोबासको व्यवस्था मिलाइएको पौडेलको भनाइ छ ।
नवलपुरमा भौतिक क्षति भए पनि मानवीय क्षति भने हुन नपाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । जिल्लाका सुरक्षा निकाय, स्थानीय तह, रेडक्रससहितका मानवीय कार्य गर्ने सङ्संस्थाहरुलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको उनको भनाइ छ । “जिल्लामा कुनै पनि बेला विपद् हुन सक्छ भनेर हामी तयारी अवस्थामा रहेका छौँ” उनले भने, “यसका तालीमप्राप्त सुरक्षाकर्मीसहितको रेस्क्यू टोली तयारी अवस्थामा रहेको छ ।”
नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको उनको भनाइ छ । नदीमा पानीको बहाव चार लाख क्यूसेक भन्दा बढी भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको घिमिरेको भनाइ छ । बाढीको सम्भावित क्षति रोक्नका लागि नदी तटीय क्षेत्रका बासिन्दाहरुको मोबाइलमा सतर्कता सम्बन्धि निरन्तर सूचना पठाउने काम समेत भइरहेको उनको भनाइ छ ।