गैँडाकोटका विभिन्न क्षेत्र डुबान

चितवनः नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै जाँदा विभिन्न क्षेत्र डुबानमा परेका छन् । नारायणीको पानी बस्तीमा पस्दा गैँडाकोट २, ६ सहितका बस्ती डुबान तथा कटानको समस्यामा परेका छन् ।
गैडाकोट २ स्थिती नारायणी नदी किनारका घरहरुमा पानी पसेको छ । त्यहाँको बोटेटोलमा रहेका करिब ३० घरमा पानी पसेको हो । बस्तीमा पानी पसेपछि यहाँका बासिन्दालाई सुरक्षित रुपमा गैँडाकोटकै अक्स्फोर्ड कलेजमा स्थानान्तरण गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।
नारायणीको वाढीले खतराको संकेत पार गरेपछि गैडाकोटका विभिन्न ठाउँहरु डुवानमा पर्नुका साथै नदीले घरहरु कटान गरेको छ । गैटाकोट ६ शिवनगर टोल विकासमा रहेका घरहरुलाई नारायणी नदीले कटान सुरु गरेको छ । सोही टोलका फोनु विक, गिरमान परियार, शुकदेव परियार, साजन लगायतका घरहरु वाढिले कटान गरेर आधा घर भत्काइसकेको टोल विकास संस्थाका अध्यक्ष किसन गुरुङले जानकारी दिए ।
अहिले शिव मन्दिर र सिताराम मन्दिरमा अस्थायी वसोवासको व्यवस्था मिलाइएको छ । समयमै तटवन्ध नगरिदा अहिले नारायणी कटाको समस्यामा परेको अध्यक्ष गुरुङले बताए । आफूहरुले पटक पटक तटवन्धको माग गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको उनको भनाई छ ।