कपडा व्यवसायीको रक्तदान , ३१ युनिट रगत संकलन

कास्की : कपडा व्यवसायी एशोसियसन कास्कीद्वारा आयोजित रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ ।

रक्तसंचार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा पोखरा–९ का अध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता विष्णु अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले हालै मात्र नेपाल राष्ट्र बैकद्वारा जारी मौद्रिक नीतिले व्यवसायीका समस्याहरु सम्बोधन गर्ने प्रयास गरेको बताए ।

कार्यक्रममा एशोसियसनका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोला, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी, चिप्लेढुगां सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष डिबी भुजेल, भाडा व्यवसायी समिति कास्कीका अध्यक्ष बलराम तिमिल्सिनाले बोलेका थिए ।

यस्तै थोक व्यवसायी संघ पोखराका अध्यक्ष टामलाल घिमिरे, फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका प्रथम उपाध्यक्ष राजु पौडेल, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष एकनारायण पनेरु र बुद्धविशाल बजार व्यापारीक एशोसियसनका उपाध्यक्ष शिव शर्माले पनि बोलेका थिए ।

सो अवसरमा आगलागी पीडित एशोसियसनका साधारण सदस्य स्मार्ट फेसनका सञ्चालक पशुपति ताम्राकारलाई नगद १० हजार सहयोग प्रदान गरिएको छ । एशोसियसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक विरेन्द्र कुवँर र संचालन महासचिव धर्ममानसिह भण्डारीले गरेका थिए ।