चितवनमा बाढी पहिराे वितण्ड : एक जना बेपत्ता, तीनघर बगायो, भरतपुरका दर्जनौ घर डुवानमा

चितवन :  बाढी पहिरोमा परी चितवन जिल्लामा एक जना बेत्ता भएका छन् भने तीन घर बगाएको र दर्जनौ घर डुवानमा परेका छन् । बाढी पहिरोले सोमबार ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं. ११ का अन्दाजी ३०/३१ वर्षिय राजु बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा बाढीले बगाएर बेपत्ता बनाएको हो । उनलाई आज सोमबार साँझ ६ः१० बजेको समयमा नदीले बगाएपछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ईच्छाकामना गाउँपालिकाको फिस्लिङमा त्रिशुली नदीले तीन घर बगाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन ।

यस्तै नारायणी नदी बढेसँगै भरतपुर महानगरपालिका वडा नं. १६ र २६ मा डुवान भएको छ । वडा नं. २६ का ३० घरका र १६ का १४ घरका वासिन्दालाई स्थानान्तरण गरिएको छ । नदीको वहाव बढ्दै गएकाले नदी किनारका वासिन्दालाई सतर्क रहन प्रशासनले आव्हान गरेको छ । नारायणी नदीको सतह खतराको सूचीभन्दा माथि रहेको छ । वर्षा भईरहेकोले नारायणी अझै बढ्न सक्ने देखिएको छ ।