गोरखामा पहिरोमा पुरिएर ३६ बर्षिया महिलाको मृत्यु

गोरखा : गोरखामा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–४ फुजेल कौदीकी ३६ बर्षिय लक्षीमाया गुरुङको आज (सोमबार) बिहान सडक माथिबाट आएको पहिरोले पुरिएर मृत्यु भएको हो ।

घरसंगै रहेको बाख्राको गोठमा घाँस हाल्न गएकी गुरुङलाई सडक माथिबाट एक्कासी आएको पहिरोले पुरेको स्थानीयबासी गगनबहादुर गुरुङले जानकारी दिनुभयो । ‘बिहान करिब साढे ११ बजेको समयमा घटना घटेको हो, उहाँले भन्नुभयो,‘मृतकको घटनास्थलमै मृत्यु भएको हो ।’ पहिरोले गोठमा रहेका ९ वटा बाख्रा समेत मरेको उहाँले जानकारी दिनुभयोे । पहिरोले संगै जोडिएका अन्य ३ वटा घर समेत जोखिममा परेको गुरुङले बताउनुभयो ।

घटनास्थल तर्फ प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासदुेव खतिवडाले जानकारी दिनुभयो ।