सुकुम्बासी बस्तिमा आगो लगाउने, यो कस्तो समाजवाद वन मन्त्रीज्यू ? गर्नुहोस् वार्डेनको सरुवा !

सन्तोष पनेरु : वर्षदिन अगाडि माडीका अगुवा नेतासहित नगरप्रमूख समेत रहेको टिमले पहिले खुमलटार निवासमा अध्यक्ष प्रचण्डलाई भेट्यो। निकुञ्जको डिजिले ’प्रचण्डको कुरा माँन्दिन, कानून तोड्दिन’ भनेको कुरा समेत अध्यक्षलाई रिपोर्टिगं भयो। वन मन्त्रीले ऐन संसोधनमा चासो नदिएको,न्युनतम् मन्त्री,सचिव र महानिर्देशक स्तरको निर्णयले हुने सहजिकरण पनि नगरिदिएको बारे गुनासो राख्यौं।

उहाँले त्यहीबाट प्रधानमन्त्रीलाई फोन गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय राजनिति र आयोगहरुको नियुक्तिबारे छलफल गर्न खोज्दै हुनुहुन्थ्यो तर प्रचण्डले अस्वीकार गर्दै भन्नु भयो,‛प्रधानमन्त्रीज्यू मलाई यो कुरा गर्ने मुड छैन। एक दर्जन मेरो निर्वाचन क्षेत्र माडीका साथीहरुले मलाई घेरेर बसिराख्नु भएको छ। माडी जनतालाई दोस्रो दर्जा मान्छे सरह व्यवहार गर्ने निकुञ्जको कानून, अधिकारी र सेनालाई तत्कालै तपाईले सरकारका तर्फबाट केही नगर्ने हो भने म मेरै गाडीमा साथीहरु लिएर तपाईको कार्यालयमा धर्ना बस्न आउछुँ।’

प्रचण्डले वन मन्त्री, सचिव र डिजि अनि माडीको प्रतिनिधिमण्डलसहित प्रधानमन्त्रीसँग छलफलका लागि समय माग्नुभयो। उहाँको आवेग सहितको आग्रह पछि एक घण्टामा सिंहदरबारमा भेट निश्चित भयो। पार्टी प्रवक्ता कमरेड नारायणकाजी श्रेष्ठ प्रकाश, क.अमिक शेरचन र क. डिआर पौडेलसमेत सहभागि भएर हामी प्रधानमन्त्री कार्यालय पुग्यौं। छलफल सुरु भयो। सुरुवातमै मेयर ठाकुर ढकालले वनका महानिर्देशकले झुटो बोलेपछि प्रधानमन्त्रीकै अगाडि फाइल फालिदिनु भयो। झण्डै हातहालाहाल जस्तो भयो। सायद माडीका जनताका तर्फबाट राज्य सञ्चालक तहमा गरिएको सबैभन्दा ठूलो प्रतिरोध र डेलिगेशन थियो त्यो। करिब डेढ घण्टा छलफल भयो।

निकुञ्ज ऐेन २०२९ लाई संसोधन गर्ने, पुल र सडक निर्माणका लागि भ्क्ष्ब् गर्ने, बाँदरझुल्लाभित्र गाडी लैजान पाउने ३ वटा समझदारी बोकेर हामी फर्कियौं। निस्कने बेला नेता डिआर पौडेलले आफ्नो मित्रताका कारण वनमन्त्रि शक्ति बस्नेतलाई भन्नुभयो ’माननियज्यू, चितवन राष्ट्रिय निकुञ्जमा म साधारण जनता भएर सार्वजनिक कालो पेलेटको बसमा यात्रा गरेको छु, साथिभाइका राता पेलेटका बाईकको पछाडि बसेर हिडेको छु, यहि बाटो सासंद भएर सेतो नम्बर पेलेटको गाडी पनि चढेको छु र झण्डा हल्लाएर मन्त्रि बनेर पनि माडी आउजाउ गरेको छु।

तपाईले माडीका जनताको पीडा यहि भावमा बुझिदिनोस्’ भन्दा हामी तिर फर्केर मन्त्रि बस्नेतले ’कानूनी अड्चनमा खेलेर माडीका साथिहरुले नेतृत्वका बिचमा अन्तरबिरोध ल्याउने काम नगर्नुस्’ भनेको कुराले निकुञ्जको समस्या कति पेचिलो रैछ, र त्यो दिन कुन स्तरको संघर्ष भएछ भन्ने बुझिन्छ।

पछाडि यो सहमति पनि कार्यान्वयन भएन, फेरि मेयरको अन्तिम भनिएको डेलगेशन र वडाध्यक्षको अनसनपछि केही समझदारी बनेको थियो। वन मन्त्रि स्वयं माडी आएर कार्यक्रमलाई सम्वोेधन गर्ने मिति तय भैसकेको बेला लकडाउन सुरु भयो। सहज समय आएपछि मन्त्रि आउनु होला र ऐन संसोधन, निकुञ्जका समस्याको दिर्घकालिन सामाधान होला भनि कुरिबसेका हामी माडीबासी फेरि स्तब्ध भयौं।

जब शनिबार कुसुमखोलाका जनताका २ घरमा आगो र ६ घरमा हात्ति लगाईयो। वर्षातको बेला बिना सूचना अनि नगरपालिकासँग समन्वय नै नगरि (भोजराज पन्त भन्ने सहायक वार्डेनको नेतृत्वमा) जनतालाई बेहाल बनाउने काम भयो। उनी तिनै मान्छे हुन् जसले नगरपालिकाले बनाईराखेको जनता आवास कार्यक्रमलाई समेत अवरोध गरिराखेका छन्

आफ्नो घरमा बनाएको एउटा काठको पिर्को, पकाएको एक कचौरा मासु,तरकारी खाने २ मुठो निउरो माडीबाट सदरमुकाम ल्याउन पाईदैन भने यो कस्तो विवेक हो ? बजेट पर्छ, पुल र बाटोहरु बनाउन पाईदैन यो कस्तो न्याय हो ? राति अपर्झट माडी छोड्न या भित्रिन पर्दा १० बजेपछि बाटो पाईदैन यो कस्तो समानता हो ? बर्खाको बेला सुकुम्बासीलाई आगो लगाएर धपाईन्छ यो कस्तो समाजवाद हो ? जबसम्म चितवन राष्ट्रिय निकुञ्ज माडी जनतालाई अभिसाप होइन, बरदान बन्दैन त्यतिबेला सम्म यो समस्या सामाधान हुँदैन। तस्कर र सीमानाका लुटेरासँग जुधेर बिना बर्दीका सिपाही बनेर बसिरहेका माडीबासीलाई कान्जिहाउसका बासिन्दा सम्झने राज्यको सोच नबदिलिएसम्म हामीसँग आन्दोलित भैरहनुको बिकल्प रहँदैन।

वन मन्त्रिज्यू, तपाई ऐन बदल्नुस्, निर्देशिका र नियमावली बदल्नुस्। प्रधानमन्त्रीले नमाने जनताका अगाडि सार्वजनिक गर्नुस् तर यहाँ त तपाईले आफ्नै अध्यक्षहरुको निर्देशन अवज्ञा गरे जस्तो देखियो। जनतालाई यति पिडा नदिनुहोस् कि जुन निकुञ्जको रक्षामा जनता मरे, त्यही निकुञ्ज फाड्न बन्चरो बोक्नु नपरोस्। मानवभन्दा जनवारको मूल्य माथि कदापि हुँदैन। निकुञ्जको गलत निति मुर्दावाद, जनताको न्यायको आन्दोलन जिन्दावाद ।।