विश्व स्वास्थ्य संगठन भन्छ : कोरोना महामारी थप जटिल अवस्थामा पुग्न सक्छ, केही देश जिम्मेवार भएनन्

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा.टेड्रोस अधानमले कोरोना भाइरसको महामारी थप जटिल अवस्थामा पुग्ने चेतावनी दिएका छन् । केही देशले कोरोना भाइरसको महामारी रोक्ने आफ्नो जिम्मेवारी पूरा नगरेकाले कोरोना भाइरसको संक्रमण थप फैलिन थालेको उनको भनाइ छ ।

डब्ल्युएचओका महानिर्देशक अधानमले लकडाउन खुकुलो बनाउने देशले अहिले कोरोनाको महामारी पहिलेको तुलनामा धेरै सामना गर्नु परेको प्रष्टिकरण दिएका छन् । उनले भनेका छन, ‘केही देशले लकडाउन खुकुलो बनाएका देशमा अहिले संक्रमणदर ह्वात्तै बढेको छ । केही देशले कोरोना भाइरसको महामारी रोक्ने आफ्नो जिम्मेवारी ठिक ढंगले पूरा गरेका छैनन् । त्यसैले कोरोना महामारी थप बढ्दोक्रममा छ ।’

डब्ल्युएचओले कोरोना महामारी नियन्त्रणमा सबैको प्रयास रहेमा संक्रमणदर घट्न सक्ने जनाएको छ । त्यसका लागि सबै देश जिम्मेवार बनेर व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड दिनुपर्ने डा.अधानमले बताए ।

सामाजिक दूरीको पालना, मास्कको प्रयोग, अनावश्यक भिडभाडको नियन्त्रणलगायतका विधिको पालना गर्नुपर्ने उनको भनाइ छ ।