सिद्धिमा पहिरोले खानेपानीको पाइप बगायो, ८० घरधुरी खानेपानीबाट बन्चित

केदार शर्मा चितवन :  लगातार परेको बर्षाका कारण चितवनका विभिन्न स्थानमा क्षति पुगेको छ । कालिका नगरपालिका १० स्थित सिद्धिमा पहिरोले खानेपानीको पाईप बगाएको छ । सिद्धि स्थित छेरवाङमा खानेपानीको पाइप पहिरोले बगाएपछि ८० घरधुरी खानेपानीबाट बन्चित भएको स्थानीय दलबहादुर चेपाङले जानकारी दिए ।
चेपाङका अनुसार, छेरवाङबासीले पाँच किलोमिटरको दुरीमा रहेका स्याङसिरिङबाट पानी खाने गरेका थिए । सो स्थानमा १ सय ११ घरधुरी रहेका छन् । अहिले पनि पानी परेका कारण खानेपानीको मुहानमा जान नसकिएको उनले बताए । साउने पानीखानका लागि आकाशबाट आएको साउने पानीको भर पर्नुपरेको उनले बताए । त्यस्तै पहिरोका कारण केही घरहरु जोखिममा रहेको उनले बताए ।

उत्ता इच्छाकामना गाउँपालिका ३ स्थित चौतारा खुलाल टोलमा माथिबाट आएको पहिराले गोठ पुरेको छ । स्थानीय अर्जुन गुरुङको गोठ पुर्दा एक हल गोरु पुरीएका छन् ।  गोठ नजिक रहेका घरपनि जोखिममा रहेको छन् । लगातार पानीका कारण शक्तिखोर फिस्लिङ्ग सडकमा पहिरो जाँदा ठाँऊठाऊमा सडक अवरुद्ध रहेका छन् ।