नेपालमा कोरोना संक्रमणको अवस्था उच्च जोखिम मै

काठमाडौं :  नेपालमा कोरोना संक्रमितको संख्या कम भए पनि संक्रमणको अवस्था भने उच्च जोखिममै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै विदेशबाट फर्कने सबैको पीसीआर परीक्षण गर्ने जानकारी दिएका छन् ।

प्रवक्ता डा गौतमका अनुसार हवाई मार्गमार्फत विमानस्थलबाट आउनेको हकमा ५ दिन होल्डिङ सेन्टरमा बसेपछि र भारतबाट आउनेको हकमा सम्बन्धित नाका तथा क्षेत्रमा रहेका क्वारेन्टीइनमा पीसीआर परीक्षण गर्ने निर्णय भएको हो ।

‘विदेशबाट आउने सबैको परीक्षण गरेपछि मात्र स्थानीय तहमा पठाउने निर्णय भएको हो,’ नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

परीक्षणका विषयमा भएका टिकाटिप्पणीप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले परीक्षणको दायर विस्तार गरिएको जानकारी दिएका छन् ।