गण्डकी प्रदेश : विपद् र दुर्घटनाबाट ३ सय ३३ को मृत्यु

पर्वत : गण्डकी प्रदेशमा गत आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक विपद् र सवारी दुर्घटनामा कुल ३ सय ३३ जनाको मृत्यु भएको छ। प्रहरीको तथ्यांकअनुसार विपदमा परी १ सय १२ जनाको मृत्यु भएको हो भने सवारी दुर्घटनामा परेर २ सय २१ जनाको मृत्यु भएको हो।

विपदबाट १ सय १२ जनाको मृत्यु

प्रदेशमा विपदबाट कुल १ सय १२ जनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार बाढी पहिरो, चट्याङ, आगलागी, हावाहुरी, हिम पहिरो र माटोको ढिस्कोमा पर्दा ४८ जना महिला र ६४ जना पुरुषको मृत्यु भएको हो। तथ्यांकअनुसार सबैभन्दा बढी म्याग्दी जिल्लामा ३३ जनाको मृत्यु भएको छ भने मुस्ताङमा १ जनाको पनि मृत्यु भएको छैन।

मृत्यु हुनेमा कास्कीका ७ महिला र १५ पुरुष गरी २२ जना, तनहुँका ६ महिला र ६ पुरुष गरी १२ जना, स्याङ्जाका १ महिला र ६ पुरुष गरी ७ जना, गोरखाका २ पुरुष, लमजुङका २ महिला र ९ पुरुष गरी ११ जना, मनाङमा १ पुरुष, बागलुङमा ६ महिला र ३ पुरुष गरी ९ जना, पर्वतमा ७ महिला र ६ पुरुष गरी १३ जना, म्याग्दीमा १९ महिला र १४ पुरुष गरी ३३ जना तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ पुरुष रहेका छन्।

प्राकृतिक विपदमध्ये सबैभन्दा बढी ८४ जनाको बाढी पहिरोमा परेर मृत्यु भएको छ भने हावाहुरी र हिम पहिरोमा परी २–२ जनाको मृत्यु भएको छ। यस्तै चट्याङले लाग्दा ८ जना, आगलागीमा परेर ३ जना र माटोको ढिस्कोले पुरिएर ६ जनाको मृत्यु भएको छ।

सवारी दुर्घटनामा २ सय २१ को मृत्यु, ६ सय ६९ घाइते

प्रहरीको तथ्यांकअनुसार गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटना भएर तथा सवारीले ठक्कर दिएर २ सय २१ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५६ जना पुरुष चालक, यात्रुअन्तर्गत महिला ३१ जना, पुरुष ७२ जना, बालक ३ जना र बालिका ५ जना रहेका छन्। जिल्ला अनुसार मृत्युको तथ्यांक हेर्दा कास्कीमा ३३ जना, तनहुँमा ४५ जना, स्याङ्जामा १० जना, गोरखामा ७ जना, लमजुङमा ७ जना, मनाङमा १ जना, बागलुङमा २९ जना, पर्वतमा ९ जना, म्याग्दीमा १४ जना, मुस्ताङमा ४ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ६२ जनाको मृत्यु भएको छ।

यस्तै, प्रदेशमा कुल ६ सय ६९ जना घाइते भएको तथ्यांक प्रहरीसँग छ। जसमा कास्कीमा १७ जना, तनहुँमा १ सय ३४ जना, स्याङ्जामा ८१ जना, गोरखामा १४ जना, लमजुङमा ११ जना, बागलुङमा १३ जना, पर्वतमा ६ जना, म्याग्दीमा ६५ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ३ सय २८ जना घाइते भएका छन्।

६ सय ३५ सवारी दुर्घटना

प्रहरीका अनुसार गण्डकीमा कुल ६ सय ३५ ओटा सवारी साधनहरू दुर्घटनामा परेका छन्। तथ्यांक अनुसार सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ३ सय ९० सवारी दुर्घटनामा परेका छन्। यस्तै कास्कीमा ४६, तनहुँमा ९१, स्याङ्जामा ४९, गोरखामा ९, लमजुङमा १०, मनाङमा २, बागलुङमा ११, पर्वतमा ९, म्याग्दीमा १४ र मुस्ताङमा ४ रहेका छन्।

ट्राफिक कारबाहीबाट उठ्यो ९ करोड २ लाख

प्रदेश प्रहरी कार्यालयका अनुसार गण्डकी प्रदेशमा ट्राफिक नियम उल्लघंन गरेका १ लाख ३१ हजार ७ सय ३७ सवारीमाथि गरिएको कारबाहीमा ९ करोड २ लाख १४ हजार रुपैयाँ राजश्वका रूपमा सङ्कलन भएको छ।

कास्कीमा ५५ हजार ८ सय ५ सवारीलाई कारबाही गर्दा ४ करोड १८ लाख ९८ हजार राजस्व उठेको छ। यस्तै तनहुँमा २१ हजार १ सय ५० सवारीलाई कारबाही गर्दा १ करोड ३४ लाख ५१ हजार, स्याङ्जामा ७ हजार ९ सय ९२ सवारीलाई कारबाही गर्दा ५२ लाख १५ हजार ५ सय राजस्व स‌ंकलन भएकाे छ।

गोरखामा १० हजार १ सय ५० सवारीबाट ७२ लाख ७ हजार, लमजुङमा ४ हजार ८ सय २० सवारीबाट ३१ लाख ७२ हजार, मनाङमा ७ सय ९१ सवारीबाट ५ लाख ५७ हजार, पर्वतमा ६ हजार ३ सय ७ सवारीबाट ३६ लाख ३९ हजार ५ सय, बागलुङमा ८ हजार ८ सय सवारीबाट ५२ लाख १५ हजार राजस्व उठेको गण्डकी प्रदेश ट्राफिक कार्यालयले जनाएकाे छ। यसैगरी, म्याग्दीमा ३ हजार ५ सय १० सवारीबाट २२ लाख १९ हजार ५ सय, मुस्ताङमा ८ सय ४० सवारीबाट ४ लाख ९८ हजार र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ११ हजार ५ सय ७२ सवारीबाट ७१ लाख ४१ हजार ५ सय रुपैयाँ राजश्वको रूपमा उठेको हो।