बढ्दै कोरोना संक्रमित, एकैदिन २ लाख ५९ हजारमा पुष्टि

काठमाडौं । लगातार दोश्रो दिन विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शनिबार विश्वभरि २ लाख ५९ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । यो अहिलेसम्म २४ घण्टामा पुष्टि भएको सर्वाधिक सङ्ख्या हो ।

डब्ल्युएचओका अनुसार बितेका २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेपछि संक्रमित संख्यामा लगातार दोश्रो दिन नयाँ कीर्तिमान कायम भएको हो । शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि विश्वको दैनिक संक्रमित संख्यामा नयाँ कीर्तिमान बनेको थियो ।

अधिकांश सङ्क्रमितहरू अमेरिकी महादेशका राष्ट्रहरूमा फेला परेका हुन् । त्यसपछि दक्षिण तथा दक्षिणपूर्वी एशियामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या बढी छ ।

८६ लाख १२ हजार निको भए
आज बिहानसम्म संसारभरका ८६ लाख १२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८६ लाख १२ हजार ९६ जना कोरोनाबाट निको भएका हुन् ।

चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ६ लाख ४ हजार ८८३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ४४ लाख २४ हजार ८१७ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ४२ हजार ८७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ३८ लाख ३३ हजार २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६३ हजार २५९ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ८१३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या २० लाख ७५ हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८८५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७८ हजार ८१७ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार ८२८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ४०७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १० लाख ७७ हजार ८६४ पुगेको हो ।