सीमा पिल्लर ठोरीबासीहरुले पहिलेकै स्थानमा गाडे

चितवन : नेपाल भारत सीमाक्षेत्रस्थित पर्साको ठोरीमा उखेलिएको सीमा पिल्लर ठोरीबासीहरुले पहिलेकै स्थानमा गाडेका छन् । ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल (पि.एल.) श्रेष्ठको अगुवाईमा ४३६ नम्बरको उखेलिएर फलिएको पिल्लर गाडिएको हो ।

सीमा पिल्लर उखेलेर नजिकै फ्याँकिएसँगै भारतले सीता गुफा क्षेत्र अतिक्रमण गर्न खोजेको भन्दै साँझपख डेढ घण्टासम्म ठोरी बजार क्षेत्र तनाबग्रस्त भएको थियो । भारतीय पक्ष र नेपाली पक्षबिच झण्डै कुटाकुटको अवस्था सिर्जना भएसंगै ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले नेपाली र भारतीय सुरक्षाकर्मीहरुसंग समन्वय गरी उखेलेर फ्याँकिएको पिल्लर पहिलेकै स्थानमा गाड्न लगाउनु भएको थियो ।

सो पिल्लर भारतीय पक्षले भत्काएको ठोरीबासीको भनाई छ, तर जिल्ला प्रशासन कार्यालय पर्साले भने त्यसमथि बस्दा वा कुनै कारण ढलेको हुनसक्ने जनाएको छ । ठोरी क्षेत्रमा पटक पटक सीमा विवाद हुँदै आएको छ, तर ठोरीबासीहरुले सीमा रक्षाका निम्ति अविराम संघर्ष गर्दै आएका छन् । स्वदेश एफएमबाट