नेपाल-भारत सम्बन्धमा गान्धी-जयशंकर जुहारी

काठमाडाैँ : भारतको नेपालसहितका अन्य मुलुकको सम्बन्धका बारेमा भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी र विदेशमन्त्री एस जयशंकरबीच सवाल-जवाफ भएकाे छ ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता गान्धीले ट्‍विटरमार्फत सार्वजनिक गरेको एक भिडियामा पाकिस्तानबाहेक अन्य छिमेकी मुलुकसँग पहिले सम्बन्ध निकै राम्रो भएको तर अहिले बिग्रिएको बताएका छन् ।

उनले नेपालको प्रसंगमा भनेका छन्, “अहिले नेपाल हामीसँग रिसाएको छ । तपाईं नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस् । जे भएको छ त्यसलाई लिएर नेपालीहरु क्रुद्ध छन् ।”

त्यसको जवाफमा भारतीय विदेशमन्त्री एय जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदी शासनमा आएपछि नेपालसँग विकासका विभिन्‍न क्षेत्रमा साझेदारी भएको बताएका छन् ।

विदेशमन्त्री जयशंकरले प्रतिक्रियामा भनेका छन्, “१७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नुभएको छ । बिजुली, इन्धन, आवास, अस्पताल, सडक इत्यादि विकास परियोजना नेपालले प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस् ।”

तर, विपक्षी नेता गान्धीले भने विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको आरोप लगाएका छन् ।

सन् २०१९ मा भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी भएपछि नेपाल-भारत सम्बन्धमा सुरु भएको दरार नेपालले उक्त आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सम्बन्धमा दरार बढ्दै गएको छ ।

एकदिनपछि विदेशमन्त्री जयशंकरले ट्‌विट गरेर राहुल गान्धीले उठाएका भारतको विदेश नीतिका विषयमा जवाफ दिएका हुन् । विदेशमन्त्री जयशंकरले भने, “प्रमुख देशहरुसँग भारतको सम्बन्धमा निकै सुधार भएको छ । अन्तर्राष्ट्रिय स्तरमा भारतको कद बढेको छ । अमेरिका, रुस, युरोप र जापानसँग विभिन्‍न चरणमा बैठक भएको छ । चीनसँग राजनीतिक स्तरमा बराबरीको हैसियतमा छौं ।”

विदेशमन्त्री जयशंकरले भारतले निकै बलियोरुपमा सीपीईसी, बीआरआई, साउथ चाइना सी तथा चरमपन्थमा अमेरिकाको कदमका विषयमा आफ्नो धारणा राखेको बताए । उनले भने, “मोदी सरकार सेनालाई बलियो बनाउने प्रयासमा छ । सन् २००८-२०१४ र २०१४-२०२० को तुलना गर्दा सेनाका लागि बजेट २८० प्रतिशत बढाइएको छ । ३२ प्रतिशत बढी सडक र ९९ प्रतिशत बढी पुलहरु बनेका छन् ।”