खुमलटार र बालुवाटार छलफलपछि नेकपा सचिवालय बैठक सुरु

काठमाडाैँ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेता शनिबार बिहानैदेखि छलफलमा सक्रिय भए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहानै दुई घण्टासम्म सचिवालयका पाँच सदस्य छलफलमा जुटे ।

खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । गृहमन्त्रीसमेत रहेका अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ भने उक्त छलफलमा गएनन् ।

त्यसैगरी सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ । उक्त छलफलमा पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मासमेत सहभागी थिए ।

खुमलटार र बालुवाटारका दुवै छलफल सचिवालय बैठकका एजेन्डामा केन्द्रित भएको स्रोतको दाबी छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्को शक्ति संघर्ष देखिएपछि स्थायी कमिटी बैठक कसरी टुंग्याउने भन्ने विषयमा छलफलका लागि सचिवालय बैठक बोलाइएको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दुवै पदबाट राजीनामा दिन अर्का अध्यक्ष प्रचण्ड समूहले चर्को दबाब दिइरहेको छ । प्रधानमन्त्री ओलीले भने तत्काल दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याउँदै आएका छन् । दुवै पक्षको अडानकै कारण लामो समयदेखि नेकपा विवादको निष्कर्ष निस्कन सकेको छैन ।

विवाद समाधानका प्रयास भइरहेको भन्दै नेकपाले शुक्रबार मात्र स्थायी समिति बैठक दुईपटक तोक्यो। असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो। तर, अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो।

अध्यक्ष दाहाल बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओलीसँग संवादका लागि बालुवाटार पुगेका थिए। दुई नेताबीच अपराह्न १ बजेसम्म कुराकानी भयो। त्यसबीच स्थायी समिति सदस्यलाई साउन ४ गते दिउँसो ३ बजेसम्म बैठक स्थगित भएको जानकारी गराइयो ।

शनिबार सचिवालय बसेर आइतबार मात्रै स्थायी समिति बोलाउने निष्कर्षमा पुगेपछि आज सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाका अनुसार दिउँसो ३ बजेर १० मिनेटपछि बालुवाटारमा सचिवालय बैठक सुरु भएको छ ।