गाउँका किसानले गर्न थाले ट्रयाक्टरबाट खेती

तुलमान गुरूङ- राप्ती: तराई क्षेत्रमा खेतीपातीको लागि ट्रयाक्टर प्रयोग नौलो नभए पनि पहाडी भू–भागमा भने जोतपातको लागि ट्रयाक्टर प्रयोग नौलो मानिन्छ ।

भौगोलिक धरातलका कारणले पनि ट्रयाक्टरबाट खेती लगाउन सम्भव कम रहन्छ । तर, पहाडी भेगमा पनि सडक सञ्जालले जोडिएका समथर भू–भागमा भने आजभोलि ट्रयाक्टरबाट खेती गर्न थालिएको छ ।

राप्ती नगरपालिकाको वडा नं:१३ हात्तीढापका मानबहादुर थिङले विगत दुईवर्षदेखि ट्रयाक्टरबाटै खेतीपाती गर्दै आइरहेका छन् । सडकछेउमै समथर जग्गा भएपछि यसवर्षको रोपाइँ पनि ट्रयाक्टरबाटै गरेका छन् ।

राप्ती नगरपालिकाको वडा नं: ११ र १२ जोड्ने लोथरखोलाको पुलछेवैमा रहेको खेतमा बाटोको विकास भएकै कारण ट्रयाक्टरको प्रयोग हुन थालेपछि कम खर्चमा खेतीपाती गर्न सम्भव भएको उनले सुनाए ।

२१ कठ्ठा खेत रहेका मालिक उनले पुल बनाउँदा करिब छ कठ्ठा जति जमिन गुमाए पनि बाँकी खेतमा अहिले ट्रयाक्टरले जोतेरै उत्पादन गर्दै आएका छन् । धान रोपाइँमा मात्रै १८ देखि २० हजार रूपैयाँ खर्च गर्दै आएका उनले गोरूको साटो ट्रयाक्टरबाट जोत्न थालेपछि खर्च धेरै नै कम भएको उनले बताए । ‘ट्रयाक्टरले प्रतिघन्टा एक हजार ४४० रूपैयाँ लिन्छ,’ उनले भने, ‘गोरूले जोतेर मान्छे लगाउनुभन्दा धेरै नै सस्तो प¥यो नि ।’

उनको टोलमा ६ घरको खेत सबै ट्रयाक्टरबाटै जोतपात गर्दै आएका छन् । टोलभरीको गरी करिब २५ हल गोरूसहितको खेताला लगाएर काम गर्नुपर्नेमा रोपारबाहेकका खेताला कटौती भएपछि कम खर्चमा उत्पादन गर्न सफल भएको मानबहादुरका छिमेकी गिरिजा मोक्तानले बताए । मोक्तानले पनि यसवर्ष तीन हल गोरूले जोत्ने बारी ट्रयाक्टरबाटै जोतेर रोपाइँ गरेका छन् । हात्तीढापमा मात्र नभई पुलपारिको डिटारमा समेत ट्रयाक्टरबाटै रोपाइँ हुने गरेको छ । खोलाकिनारको बारी भएकोले पनि ट्रयाक्टर लगाउन सजिलो भएको हो ।

चितवनको भण्डाराबाट धादिङको मलेखु जोड्ने चेपाङ राजमार्गअन्तर्गत पर्ने यी क्षेत्रमा सडकको विकास भएकै कारण बारीमा ट्रयाक्टर लगाएर सस्तोमा उब्जनी गर्न सम्भव भएको मोक्तानले बताए ।