स्वास्थ्यमन्त्रीका सल्लाहकारसँगको विवादले दुई उप-सचिवको सरुवा

कोरोनासँग लडिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही महिनाअघि विवादित ओम्नी खरिद प्रकरणसँग जोडिएका दुई उप सचिवको सरुवा गरेको छ।

सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सचिवालयमा कार्यरत उपचसचिव लीलाराज पौडेल र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको खरिद शाखामा कार्यरत गगन विष्टको सरुवा गरेको हो।

पौडेलको रुकुम पूर्व सरुवा भएको छ भने विष्टको गृह मन्त्रालय सरुवा गरिएको समेत बताइएको छ। पौडेलको स्थानमा हाल धुलिखेलको प्रशासकीय अधिकृतको रुपमा कार्यरत तारा लुइँटेलको सरुवा भएको छ। बीचमा केही समयबाहेक डेढ दशकभन्दा लामो समयदेखि स्वास्थ्य मन्त्रालयमै बिताएका पौडेलको सरुवाबाट मन्त्रालयकै अधिकारीहरू आश्चर्यमा परेका छन्।

यता, रुकुम पूर्व सरुवा भएपछि मन्त्रीका निजी सचिव लीलाराज पौडेलले आफू आफ्नै रोजाइले सरुवा भएको जनाएका छन्। उनले भने, ‘काम गर्दै जाँदा सानो तिनो असमझदारी हुनु भनेको त सामान्य कुरा हो तर त्यस्तो धेरै नराम्रो होइन रुकुम पूर्वको जिल्ला समन्वय कार्यालयमा सरुवा भएको पत्र पाएको छु, मेरै रोजाइमा म त्यहाँ गएको हुँ।’ तर, कोभिड—१९ क्राइसिसका बेला मन्त्रीको निजी सचिवालयको कमाण्डको सम्हालेका उपसचिवको पौडेलको सरुवालाई सचिवालयमा रहेको खटपट बाहिर आएको रुपमा मन्त्रालयका अधिकारीहरुले लिएका छन्।

मन्त्रालय स्रोतका अनुसार मन्त्री ढकालले विज्ञ सल्लाहकारका रुपमा त्रिवि जनस्वास्थ्य विभागका प्रमुख डा खेम कार्कीलाई नियुक्त गरेसँगै पौडेल र कार्कीबीच तालमेल मिलेको थिएन। विज्ञ सल्लाहकार भएर डा कार्कीले मन्त्रीलाई नीतिगत सल्लाह दिनेभन्दा निजी सचिवको कार्यक्षेत्र बाझिने, मन्त्रालयका महाशाखा प्रमुखहरुलाई अनावश्यक निर्देशन दिने गरेको बताइन्छ।

उनी असन्तुष्ट बनेसँगै मन्त्री ढकाललाई कार्कीको क्षेत्राधिकारका विषयमा बारम्बार क्लियर हुनुपर्ने सुझाव दिँदै आएका थिए। हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभकत ढकाल मन्त्रालयमा आएदेखि उपसचिव पौडेल मन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिवकोको रुपमा कार्यरत थिए।

मन्त्री ढकालको हरेक निर्णयमा प्रमुख समन्यवको भुमिका खेल्दै आएका उपसचिव पौडेल विवादित ओम्नी खरिद प्रकरणसँग पनि जोडिएका थिए। यसअघि स्वास्थ्यमन्त्री खगराज अधिकारी र पद्मा अर्याल मन्त्रालयमा हुँदा पनि उनी सचिवालयमै थिए।

मन्त्रीका सल्लाहकारसँग सम्बन्ध बिग्रिएपछि सरुवा

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले भने स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारको रुपमा डा खेम कार्की आएपछि नै सचिवालयमा खटपट भएको र हाल त्यही पछिल्लोपटक पौडेलको स्वास्थ्यमन्त्रीका सल्लाहकार डा खेम कार्कीसँग सम्बन्ध बिग्रनु नै सरुवाको कारण रहेको बताएका छन्।

एक साताअघि मात्र सचिवालयको बैठक बसी सबैले आ—आफ्नो क्षेत्रमा मात्र काम गर्ने र एकअर्काको काममा दखल नदिने सहमति भएको थियो।’ यता, सचिवालमा प्रमुख स्वकीय सचिव र विज्ञ सल्लाहकार बीचमै खटपट भएपछि केही दिन अगाडि स्वास्थ्यमन्त्री ढकालले सचिवालयको बैठकसमेत राखेर अबदेखि मिलेर जानुपर्ने बताएका थिए।

यसअघि स्वास्थ्यमन्त्री खगराज अधिकारी र पद्मा अर्याल मन्त्रालयमा हुँदा पनि उनी सचिवालयमै थिए। पार्टी तहमै पकड भए पनि यसपटक पौडेलको सरुवा दुर्गम रुकुम पूर्वमा भएको छ। कतिपय ओम्नी खरिद प्रक्रियामा तानिनसक्ने देखिएपछि बचाउका लागि सरुवा गरिएको हुनसक्ने रुपमा पनि व्याख्या गरेका छन्।

लामो समय योजना शाखामा बसेका पौडेलको मन्त्रालयका योजना तथा कार्यक्रममा वर्षदेखि हाबी हुँदै आएका थिए। पौडेल स्वास्थ्यसामग्री खरिद गर्दा ओम्नीसँग मूल्य र परिमाणबारे टुंगो लगाउने समितिमा थिए। त्यसैगरी गगन विष्ट पनि विभागबाट हुने सबै खरिदको स्पेसिफिकेसन तयार पार्ने समितिमै थिए। दुवै प्रमुख उपसचिवको सरुवालाई अर्थपूर्ण रुपमा हेरिएको छ।