‘दीपालाई क्षमा दिनुहोला’

काठमाडाैँ :  नायक राजेश हमालले आफ्ना फ्यान समक्ष हास्यकलाकार तथा निर्देशक दीपा श्री निरौलालाई क्षमा दिन विनम्रतापूर्वक आग्रह गरेका छन्। फेसबुकमा भिडियो सेयर गर्दै हमालले कलाकारलाई क्षमता पस्कन प्रेरित गर्न र सकारात्मक भएर सम्बन्धित व्यक्तिको आत्मसम्मानमा ठेस नपुग्ने गरी प्रतिक्रिया जनाउन आफ्ना प्रशंसकसमक्ष आग्रह गरेका छन्।

मध्यरातमा जारी गरिएको ९ मिनेट लामो भिडियोमा अभिनेता हमालले दीपा श्रीको नाम भने कतै उच्चारण गरेका छैनन्। उनले ‘सम्बन्धित व्यक्ति’ र ‘मेरो सहकर्मी’ लाई क्षमा दिन दर्शकसँग आग्रह गरेका छन्।

सबैको सम्मान गर्न आग्रह गर्दै उनले कसैको अभिव्यक्तिप्रति ठाडो प्रतिक्रिया जनाउनु राम्रो नहुने बताएका छन्। उनले दर्शकबाट आफूले सकारात्मक प्रतिक्रियाको अपेक्षा राखेको बताएका छन्।

उनले भनेका छन्, ‘सार्वजनिक स्थलमा फिल्मकर्मीहरूले दिनुभएको अभिव्यक्तिलाई लिएर दर्शकले आफ्नो प्रतिक्रिया राख्दै आउनुभएको छ। कला क्षेत्र, जोसँग म संलग्न छु। निःसन्देह त्यसमा दर्शकले दिनुभएको सल्लाह, सुझाव तथा भनाइले अहम् भूमिका निर्वाह गर्छ।

दर्शकले बेला बखतमा दिने सल्लाह तथा सुझावले हामीलाई आफ्नो कला अझ परिस्कृत र परिमार्जित हिसाबले प्रस्तुत गर्न प्रेरणा दिन्छ। र, दर्शकले पनि हामी कलाकारले सम्प्रेषण गर्ने विचारलाई आत्मसात् गर्नुहुन्छ। त्यो भनेको दर्शक र कलाकारबीच नङ र मासुको जस्तो सम्बन्ध छ।’