माडीलाई धार्मिक क्षेत्र बनाउने अवसर

विप्लव काफ्ले – भरतपुर: अयोध्या र भगवान श्रीराम नेपाली भएको दाबी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपछि विकासमा सधैँ उपेक्षामा परेको माडीमा आशा पलाएको छ । प्रधानमन्त्री ओलीले  भगवान राम भारतीय नभएको दाबी गर्दै असली अयोध्या वीरगञ्जदेखि पश्चिमको गाउँ ठोरीमा पर्ने अभिव्यक्ति दिएका थिए ।

निकुञ्जको काखमा रहेको माडी नदी कटान तथा जंगली जनावरको आक्रमणको चपेटामा पर्दै आएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिपछि माडीबासीले धार्मिक क्षेत्र विकास हुने अपेक्षा गरेका छन् । माडी–८ का वडाध्यक्ष कृष्णराज अधिकारी धार्मिक पर्यटन विकास गर्ने अवसर आएको बताउँछन् ।

“यहाँ अयोध्या क्षेत्रका केही संरचना भेटिन्छन्, अझै खोजबिन हुनुपर्छ”, उनले भने, “पवित्र तीर्थस्थलका रुपमा विकास गर्ने अवसर आएको छ, तत्काल खोज तथा अनुसन्धान हुनुपर्छ ।” उनको वडामा बैकुण्ठधाम, सिताराम गुफालगायत धार्मिक क्षेत्र छन् । दक्षिण अयोध्यापुरीमा प्राचीन भग्नावेश इँटाको थुप्रो पनि भेटिएको छ । राम–सीतासँग सम्बन्धित धार्मिक स्थलहरू माडी–ठोरी आसपासमा छन् ।

तत्कालीन अयोध्यापुरी गाविस अध्यक्ष तथा नेकपा माडीका सचिव नारदमणि पौडेल माडीले अवसर सदुपयोग गर्नुपर्ने बताउँछन् । “अध्ययन तथा खोजले अयोध्या पुष्टि भए वा नभए पनि माडीलाई फाइदा नै पुग्छ”, उनी भन्छन्, “सरकारी स्तरबाटै अध्ययन अनुसन्धान गर्न ढिलाइ नगरौँ ।” उनका अनुसार बैकुण्ठधाम आसपासका जंगल क्षेत्रमा प्राचीन सिक्का, घैला, मूर्ति तथा गुफाहरु भेटिएका छन् । “सबैको विचारलाई पुँजीका रुपमा लिएर उत्खनन्मा जुट्नुपर्छ”, उनले भने, “जेजति तथ्य फेला पर्छन्, त्यहीअनुसारको धार्मिक पर्यटनका गतिविधि बढाउनुपर्छ ।”

माडी–७ का युवा पण्डित सुदर्शन सुवेदी माडीका धार्मिक क्षेत्रबारे अध्ययनको खाँचो रहेको बताउँछन् । “ग्रन्थमा उल्लेख भएका धार्मिक क्षेत्रहरु प्रशस्तै छन् । तर, अध्ययन भएको छैन”, उनले भने, “सबै धार्मिक क्षेत्रलाई समेट्दै पर्यटक भित्रिने गरी प्रचारप्रसार हुनुपर्छ ।” उनले धार्मिक ग्रन्थमा उल्लेख भएको अयोध्या क्षेत्र माडीमै पर्ने आधार खोज्न विज्ञ संयन्त्र बनाउनुपर्ने बताए । “धार्मिक महत्वका प्राचीन क्षेत्रले माडी भरिएको छ”, उनले भने, “राम जन्मभूमि नेपालमा हो–होइन गहन अध्ययनको खाँचो छ ।” जानकारहरु भन्छन्, ‘रामायणमा सीताको जन्मभूमि जनकपुर र रामको जन्मभूमि अयोध्यापुरीमा भएको उल्लेख छ । तर, सो क्षेत्र माडीको अयोध्यापुरी नै हो भनेर तथ्य पुष्टि हुन बाँकी नै छ ।’

रामायणका अनुसार राम रथमा चढेर जनकपुरमा पुगेको, रामको आदेश मान्दै लक्ष्मणले सीतालाई वाल्मीकि आश्रममा छाडेकोलगायत कथाहरु छन् । लव–कुश हुर्केको क्षेत्रका रुपमा चिनिएको वाल्मीकि आश्रम माडी–१ मा पर्छ । वाल्मीकि आश्रममा सीताले वनवास जीवन बिताएकी थिइन् ।

माडीका मेयर ठाकुरप्रसाद ढकालले माडीका धार्मिक क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री कार्यालयको टोली आउन लागेको बताए । “शुक्रबार बिहान अवलोकनका टोली आउने सूचना पाएको छु”, उनले भने, “यहाँका धार्मिक क्षेत्र देखाउने छौँ, तथ्य खोजबिनका लागि अनुरोध गर्नेछौँ ।”
उनले धार्मिक अगुवाहरुसँग अयोध्या क्षेत्र माडीमा पर्ने÷नपर्नेबारे राय लिइएको बताए । “धार्मिक ग्रन्थ र यहाँका धार्मिक क्षेत्रबीचको सम्बन्धबारे गहन अध्ययन थालेका छौँ”, उनले भने, “सांस्कृतिक, धार्मिक र इतिहासविद्हरुसँग निरन्तर छलफल चलाएको छु ।” उनले राम जन्मेको क्षेत्र माडीकै अयोध्यापुरी क्षेत्र भएको पुष्टि भएमा धार्मिक पर्यटकीय गतिविधि बढाउने योजना रहेको सुनाए ।

“धार्मिक पर्यटन विकास सुरु हँुदैछ, अब एकीकृत धार्मिक क्षेत्रको विकासबारे सोच्दै छौँ”, उनले भने, “पुराताङ्खव विभागले पनि चासो दिनुप¥यो, खोज तथा अनुसन्धानमा ढिलाइ गर्नुभएन ।” उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले हौसला बढेको बताए । “माडीको लागि अवसर हो, अध्ययन अनुसन्धान गरेर छिटै निष्कर्ष आउनुपर्छ भन्नेमै छौँ”, उनले भने, “धार्मिक पर्यटनका लागि माडीलाई राम्रो अवसर हो ।” चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने वाल्मीकि आश्रममा सहजै माडीबाट जान मिल्ने गरी ‘ट्रयाक’ खोल्नेबारे छलफल भइरहेको बताए ।

उद्योग वाणिज्य संघ–माडीका अध्यक्ष रेशमलाल आचार्य धार्मिक पर्यटन प्रवद्र्धनका माडीका उद्योगी व्यवसाय सहकार्य गर्न तयार रहेको बताए । “आवश्यक लगानी गर्न तयार छौँ, हामी उत्साहित छौँ”, उनले भने, “तथ्य खोज्न ढिलो नहोस्, पवित्र तीर्थस्थल माडी बनोस् ।” माडी भरतपुर सम्पर्क मञ्चका अध्यक्ष गणेश गुरुङ माडीले अवसर पाएको बताउँछन् । “कैयौँ फेला नपरेका धार्मिक महङ्खवका क्षेत्र पहिचान गर्ने अवसर आएको छ”, उनी भन्छन्, “तथ्य सत्यलाई स्थापित गर्नुपर्छ, ढिलाई नहोस् ।”

माडी अयोध्यापुरीका क्षेत्रमा रहेका पुराताङ्खिवक महङ्खवका क्षेत्र तथा वस्तु पत्ता लगाउन जनस्तरबाट खोजबिन समिति गठन भएको छ । माडी ७, ८ र ९ का वडाध्यक्षसहित बसेको सर्वपक्षीय छलफलबाट समिति बनाइएको ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।

तत्कालीन अयोध्यापुरी गाविसका अध्यक्ष नारदमणि पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति बनेको छ । समितिमा जितबहादुर शाही, मोहदत्त काफ्ले, तिलु पुरी र मुक्ति न्यौपाने छन् । समितिले धार्मिक क्षेत्रबारेको सूचना एकीकृत गर्ने, खोज्ने छ । समितिले शुक्रबार वडा नम्बर ८ मा भेटिएको प्राचीन इनारको अवलोकन गर्नेछ ।