यसवर्ष अघिल्लो वर्षको तुलनामा रोपाइँको गति तथा क्षेत्रफल वढ्दो

भरतपुर : चितवन जिल्लामा यसवर्ष अघिल्लो वर्षको तुलनामा छिटो रोपाइँ भएको छ । मनसुन सक्रिय भएका कारण  विगतका वर्षहरुमा भदौसम्म पनि रोपिने यहाँका खेतहरु यसवर्ष असारमै सकिएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार यसवर्ष चितवनमा असार महिनामा झन्डै ८० प्रतिशत रोपाइँ भएको छ । उनका अनुसार अघिल्लो वर्ष असारमा ४० प्रतिशतमात्रै रोपाइँ भएको थियो । समयमै रोपाइँ भएका कारण यसपटक धानको उत्पादन पनि बढ्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले यसवर्ष रोपाइँ छिटो हुनुका साथै क्षेत्रफल पनि बढेको बताए । उनले भने, ‘रोपाइँ पनि छिटो भएको छ, धानको क्षेत्रफल पनि बढेको छ जसका कारण चितवनमा धानको उत्पादन पनि बढ्ने अनुमान गरेका छौँ ।’

परियोजनाका अनुसार लकडाउनका कारण तरकारी नबिकेपछि किसानले तरकारी छोडेर यसपटक धान रोपाइँ गरेका छन्, जसका कारण धानको क्षेत्रफल बढ्ने पक्का छ । धेरै धान फल्ने एक सूचकमध्ये छिटो रोपाइँ पनि एक हो । विगतका वर्षहरुमा खडेरी परेका कारण कृषकले बूढो बीउ रोप्थे, जसका कारण उत्पादन पनि कम भइरहेको थियो । यसपटक समयमै तन्नेरी बीउ रोप्ने अवसर मिलेको हुनाले धानको उत्पादन बढ्ने अनुमान गरिएको हो ।

असारमै पूर्वी चितवनमा ९५ प्रतिशत धान रोपाइँ सकिएको परियोजनाको भनाइ छ । माडीमा पनि ९० प्रतिशत रोपाइँ भइसकेको छ । ‘चितवनमा सबैभन्दा ढिलो रोपाइँ हुने भनिएको ठाउँ भरतपुर महानगर हो, यहाँ पनि यसपटक झन्डै ६० प्रतिशत रोपाइँ सकिएको छ’, परियोजनाका सूचना अधिकारी पौडेलले भने, ‘साउनको दोस्रो हप्तासम्ममा चितवनको रोपाइँ लगभग पूरा हुन्छ ।’

यतिबेला लकडाउनका कारण नेपालको पूर्वी तराईबाट कृषि मजदुरहरु आउन पाएनन् । चितवन ज्ञान केन्द्रका अनुसार असार–साउनमा चितवनमा पूर्वी तराईबाट आउने १० हजारभन्दा बढी कामदारहरु यसपटक लकडाउनका कारण आउन पाएनन्, तर पनि यहाँको रोपाइँमा कुनै समस्या भएन ।

‘किसानले अर्मपर्म तथा स्थानीय कामदारबाटै रोपाइँ सकेका छन्’, परियोजनाका सूचना अधिकारी पौडेलले भने, ‘रोपाइँमा आधुनिक प्रविधिको प्रयोग पनि बढिरहेको हुनाले किसानलाई थप सहज महसुस भयो ।

गीतानगरका किसान कृष्णप्रसाद दाहालले स्थानीय खेतालाबाट नै रोपाइँ गर्दा थोरै लागत बढेको बताए । उनले भने, ‘विगतका वर्षहरुमा तराईका जिल्लाबाट समूहमा आउने मजदुरहरुलाई ठेक्का दिएर रोपाइँ गरिन्थ्यो, यसपटक लकडाउनले उनीहरु आएनन् । यहीँका कामदार लगाउँदा विगतको वर्षको तुलनामा यसपटक लागत बढ्यो ।’

लकडाउनका कारण सहरका मानिस गाउँ आएका कारण धान रोपाइँमा कामदारको अभाव नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

चितवनको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० हेक्टर रहेको छ । त्यसको २१।२ प्रतिशत अर्थात् ४६ हजार ८९७ हेक्टर कुल खेतीयोग्य जमिन छ । सो मध्ये हाल करिब ४४ हजार २९१ हेक्टर जमिनमा खेती भएको छ । खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी ७२।७ प्रतिशतमा सिंचाइ पुगेको छ । गत वर्ष २७ हजार ४४५ हेक्टरमा बर्खे धान र चैते धानको खेती भएको थियो । chitwan post