आज केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं :  नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ।

अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञाान विभागले जनाएको छ।

त्यस्तै साउन ५ देखि ८ गतेसम्म कन्काई, सप्तकोशी र सहायक नदी तमोर, अरूण, सुनकोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली र यसका सहायक नदीहरुमा बहाव बढ्नेछ भने केही नदीहरुको जल सतह सतर्कता बिन्दुसम्म पुग्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।