रोटा भाइरस विरुद्धको खोप आजबाट शूरु

काठ्माडौं-सुदूरपश्चिम प्रदेशमा अब नियमित खोप अन्तर्गत रोटा भाइरस विरुद्धको खोप पनि खुवाइने भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले र सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले दुई शिशुलाई खोप खुवाएर रोटा खोपको सुरुवात गरेका छन् । मन्त्री सुबेदी र मेसु पाण्डेले ६ साता पुरा भएका दुई शिशुलाई रोटा भइरसविरुद्धको खोप खुवाएका हुन् । नियमित खोप सेवामा रोटा खोप तथा सरसफाइ प्रवर्धन शुभारम्भ कार्यक्रम अन्तर्गत धनगढीमा रोटा खोपको सुरुवात गरिएको हो । अभियानको शुभारम्भ गर्दै मन्त्री सुवेदीले मन्त्रालयलाई आलोचना र गुनासोरहित बनाइने प्रतिवद्धता व्यक्त गरे । ‘हामी मन्त्रालयलाई गुनासो, आलोचना, विभेद उन्मुक्त बनाउन चाहन्छौं’ मन्त्री सुवेदीले भने ‘तपाइ कर्मचारीहरु पनि तोकिएको स्थानमा गएर काम गरिदिनुहोस् । सरुवा र बढुवामा कुनै पनि विभेद गर्दैनौं । आर्थिक अनियमितता पनि मन्त्रालयमा हुन दिन्नौं ।’ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशमा वर्षेनि ६२ हजार बच्चा जन्मने गरेको बताए । उनले भने –‘रोटा खोप पहिलो पटक ६ साता पुरा भएको शिशु र दोस्रो पटक १० सातामा खोप नियमित खुवाइने छ ।’ उनले प्रदेशका नौ वटै जिल्लाको १८ सय खोप केन्द्रबाट यो खोप खुवाइने बताए । निर्देशक अवस्थीले भने –‘खोप खुवाउन ठुलो कुरा होइन । यस्को गुणस्तर कायम गर्न चुनौति हो ।’ उनले स्वास्थ्यका कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सामाग्रीहरु समयमै उपलब्ध गराइनुपर्ने माग गर्दै भने –‘आवश्यक सामाग्रीका लागि आर्थिक, जनशक्ति लगायतको आवश्यकता मन्त्रालयले पुरा गर्नुपर्नेमा ध्यान दिनुपर्छ ।’ युनिसेफ नेपालगञ्जका कार्यालय प्रमुख दीपक श्रेष्ठले रोटा खोपले कडा खालको झाडा पखालाबाट हुने बाल मृत्युदरमा कमी ल्याउने विश्वास व्यक्त गरे । उनले रोटा खोप खुवाउनेसंगै सरसफाइका अभियानहरु पनि सञ्चालन गरिने बताए । स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डाक्टर भुषण मिश्रले रोटा खोप बारे जानकारी दि“दै नेपालमा आठ प्रतिशत झाडा पखालाका कारण बालबालिकाको मृत्यु हुने गरेकोमा एक तिहाइ बालबालिका रोटा भाइरसकै कारण हुने गरेको जानकारी दिए । उनले बिश्वका ९० देशमा यस अघि नै रोटा खोप सुरु गरिएको छ ।