कोरोना मारबीच आर्थिक वर्ष २०७६/०७७ बिदा

काठमाडौं । निकै महत्वाकांक्षी लक्ष्यहरूबाट सुरु भएको आर्थिक वर्ष २०७६र७७ निराशाजनक परिणामको चाङ थुपारेर बिदा भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्रमा एकसाथ परेको प्रभावले उच्च आर्थिक वृद्धिको बाटोमा लम्किरहेको नेपालको यात्रा बिथोलियो । नयाँ आर्थिक वर्षलाई स्वागत गर्दैगर्दा सरकार, मजदुर र व्यवसायी सबै चिन्ताजनक आँकडाहरूको गणित छिचोल्दै छन् ।

सरकारका अंगहरूमात्र होइन, निजी थिंक ट्यांकहरू पनि कोरोनाको अर्थतन्त्रमा परेको प्रभावारे लेखाजोखा गर्न व्यस्त छन् । तर यो संकट अब समाधानको बाटोमा जाने हो कि फेरि बल्झिने हो भन्ने कसैलाई थाहा छैन । पछिल्ला आँकडाहरूले उद्योग, पर्यटन, सार्वजनिक यातायात र उड्डयन तथा निर्माण क्षेत्रमा ज्यादा असर परेको देखिएको छ ।

लकडाउनको अवधिभर पर्यटन तथा उड्डयन क्षेत्रमा ४१ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । पर्यटन तथा हवाई क्षेत्रमा प्रतिमहिना सरदर १० अर्व मूल्यको प्रत्यक्ष क्षति भएको अनुमान गरिएको छ । मन्त्रालयको प्रतिवेदनअनुसार चैत्र ११ गतेदेखि असार १९ सम्ममा ३४ अर्ब रुपैयाँ बराबरको नोक्सान भएको छ। वार्षिक २ खर्ब रुपैयाँ आम्दानी गर्ने पर्यटन क्षेत्रमा सरकारी र निजी क्षेत्रको गरी करिब १ खर्ब ५९ अर्ब रुपैयाँ लगानी रहेको मन्त्रालयले बताएको छ ।

असार १ गतेदेखि सरकारले व्यापार, व्यवसाय र उद्योग सञ्चालन अनुमति दिए पनि ४६ प्रतिशत मात्रै उद्योग सञ्चालनमा रहेको सरकारी आँकडा छ । केही दिनअघि मात्रै सरकारले गरेको अध्ययनमा १० औद्योगिक क्षेत्रमा सञ्चालित ५ सय ९७ मध्ये अत्यावश्यक वस्तु उत्पादन गर्ने ३ सय ३८ उद्योग मात्रै आंशिक सञ्चालनमा रहेको उल्लेख छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योग खोल्ने वातावरण बने पनि कामदार नहुँदा चलाउन नसकिएको बताए । सरकारी आँकडाअनुसार औद्योगिक क्षेत्रमा ११ हजार ७ सय ३६ जना मजदुर रहेकामा ४ हजार ९ सय जना मात्रै काममा गएका छन् । कुखुरा व्यवसायीहरूले ‘पोल्ट्री चेन’ मा मात्रै ११ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको बताएका छन् । दुग्ध व्यवसायमा २ अर्ब १४ करोड रुपैयाँ क्षति भएको व्यवसायीले बताएका छन् । ठूलो मात्रामा तरकारी नष्ट गरिए पनि त्यस्तो क्षतिको मूल्यांकन हुन सकेको छैन ।

लकडाउनका कारण ८० प्रतिशत किसानले कृषि उत्पादनका लागि चाहिने आवश्यक मल, बिउलगायत सामग्री पाएनन् । ७२ प्रतिशत किसानले यातायात बन्दका कारण उत्पादित वस्तु बजारसम्म पुर्‍याउन नसकेको नेपाल कृषि इन्जिनियरिङ विद्यार्थी समाजको प्रतिवेदनमा उल्लेख छ ।

ऊर्जा क्षेत्रले हरेक महिना करिब २ अर्ब रुपैयाँ आम्दानी गुमाएको व्यवसायीले बताएका छन् । वैदेशिक रोजगारी ठप्प छ । अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध हुँदा श्रम स्वीकृति लिएर बसेका ५० हजार कामदार विदेश उड्न पाएका छैनन् । उल्टै १२ देखि १५ लाखसम्म वैदेशिक रोजगारीमा रहेका कामदार स्वदेश फर्किने अनुमान सुरुआती दिनमा गरिए पनि अहिले त्यति ठूलो संख्यामा नफर्कने आँकलन हुन थालेको छ । विदेशमा अलपत्र २६ हजार कामदार स्वदेश फर्किएका छन् । दुई लाख १८ हजार श्रमिक विदेशमा रोजगारी गुमाएर अलपत्र परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

स्वदेशमा वैकल्पिक रोजगारीको अभाव र विदेशमा पनि अत्यावश्यक काममा लागेका नेपाली घर फर्किने सम्भावना भने दिनानुदिन घट्दो छ । यसले रेमिट्यान्स आयमा भने उल्लेख्य असर नपर्ने देखिएको छ ।

कोरोना महामारीका कारण सरकारले ७२ प्रतिशत बजेट खर्च गर्न पनि हम्मे परेको छ । राजस्व संकलन लक्ष्यको ७५ प्रतिशतमै रोकिनु परेको छ । अर्थात्, ८ खर्ब राजस्व उठाएर ११ खर्बमात्रै खर्च गर्न सरकार सक्षम भएको छ । लकडाउन अगाडि १० खर्ब ६३ अर्ब रुपैयाँ उठाउने अनुमान थियो ।

तर, लकडाउनले आर्थिक क्रियाकलाप ठप्प भएपछि व्यवसायी र उद्योगीबाट कर उठ्न सकेन । अत्यावश्यक बाहेकका वस्तुको आयातमा कडाई गर्दा पनि भन्सार राजस्व प्रभावित बन्यो । यही कारण आर्थिक वृद्धि पनि २ प्रतिशतभन्दा कम हुने आकलन सरकार र स्वतन्त्र विज्ञहरूको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।