३३.५ किलो सुन तस्करी प्रकरणका पक्राउ खड्का पूर्पक्षका लागि थुनामा

विराटनगर : साढे ३३ किलो सुन तस्करी प्रकरणका पक्राउ हरिशरण खड्कालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले खड्कालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिएका छन ।

काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का तस्करीमा संलग्न चुडामणी उप्रेती गोरेका सहयोगी भएको प्रहरीको दाबी छ ।

उनीसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दायर भएको थियो ।