राजस्थानका उपमुख्यमन्त्री सचिन पायलटलाई कांग्रेसले पदबाट हटायो

एजेन्सी :  राजस्थानका उपमुख्यमन्त्री र पार्टी अध्यक्षसमेत रहेका सचिन पायलटलाई भारतीय राष्ट्रिय कांग्रेसले दुवै पदबाट हटाएको छ । पार्टीले सचिन पायलटलाई हटाएसँगै राजस्थानको अध्यक्षको जिम्मेवारी प्रान्तका शिक्षामन्त्री गोविन्द सिंह डोटासेरालाई दिएको छ ।

पार्टीले दुवै पदबाट हटाएपछि ट्विट गर्दै सचिन पायलटले लेखेका छन्, “सत्यलाई ढाकछोप गर्न सकिन्छ तर, पराजित गर्न सकिँदैन ।”

सचिन पायलटसँगै राजस्थान युथ कांग्रेसका अध्यक्ष मुकेश भारतलाई पनि कारबाही गरिएको छ । भारत राजस्थानको लाड्नुका विधानसभाका विधायक पनि हुन् । उनको स्थानमा गणेश घोघरालाई राजस्थान युथ कांग्रेसको अध्यक्ष बनाइएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार राजस्थानमा बुधबार मन्त्रिमण्डल फेरबदल गरिने जनाइएको छ । जयपुरमा पत्रकारलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले भने, “धन बल र सत्ता बलको दुरुपयोग गरी सांसदलाई खरिद गर्ने माफी दिन योग्य नहुने गल्ती गरिरहेका छन् ।”

उनले थपे, “राजस्थानका सांसदलाई खरिद गर्ने चालबाजी भइरहेको थियो । हामीलाई पश्चाताप छ कि हाम्रा युवा साथी, उपमुख्यमन्त्री सचिन पायलट र उनका साथीहरु दिग्भ्रमित भएर कांग्रेस नेतृत्वको सरकार हटाउने बीजेपीको जालको सिकार भएका छन् ।”